बिर्तामोड, बैशाख १० । लक्षित ब्यक्तिहरुको चेक संकलन गरेर घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी बिर्तामोडका केही वडाले गरिरहेपनि धेरै वडाहरु अन्योलमा छन् ।

बिर्तामोडका सबै वडाहरुलाई घरघरमै सामाजिक सुरक्षा वितरण गर्ने व्यवस्था मिलाउन गाह्रो भइरहेको हो । ८ नं. वडा कार्यालयले सबै वडालाई उछिन्दै घरघरमै भत्ता वितरण गर्न एक्सल बैंकबाट मंगलबार भुक्तानी लिएर गएको छ ।वडा कार्यालयले भत्ता पाउनेहरुको चेक संकलन गरी बैंकमा बुझाएपछि बैंकले वडा सचिवको नाममा एकमुष्ठ भुक्तानी दिने गरेको छ । त्यही रकमलाई जनप्रतिनिधि र टोल विकास संस्थामार्फत् घरघरमा बाँड्ने व्यवस्था मिलाउन नगरपालिकाले निर्देशन दिएको थियो । सरकारले जारी गरेको लकडाउनको अवधिमा बैंक खुल्ने समय थोरै भएकोले बैंकबाट भत्ता बुझ्न समस्या हुने भएपछि यस्तो निर्णय गरिएको हो । हाल बैंकहरुले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मात्र बैंकिङ सेवा दिँदै आएका छन् ।
बिर्तामोड— ८ ले भत्ता बाँड्नै लाग्दा वडा नं ३ र ६ ले चेक संकलन कार्यलाई अगाडि बढाएका छन् । विगत तीन दिनदेखि आफूले वडा कार्यालयबाटै चेक संकलन गरिरहेको वडासचिव भीम अधिकारीले बताए । सो वडामा भत्ता पाउने ६९९ जना रहेका छन् । चेक संकलन गरिसकेपछि बंैकमा बुझाउने र भुक्तनी पाएपछि वडा सदस्यमार्फत भत्ता वितरण गरिने उनले बताए । सम्भवतः पर्सी घरघरमै भत्ता आइपुग्ने सचिव अधिकारीको भनाइ छ । त्यस्तै वडा नं.६ ले हिजोबाट चेक संकलन शुरु गरेको छ । चेक संकलन भइसकेपछि बैंकमा बुझाएर आउने शनिबार भत्ता वितरण गरिने वडा नं. ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङवाले बताए । त्यस्तै वडा नं. ५ ले अतिविपन्नहरुलाई मात्र भत्ता वितरण गर्ने योजना बनाएको छ । समस्यामा परेकाहरुलाई मात्र बैंकमार्फत भुक्तानी लिएर वितरण गर्ने योजना रहेको वडा कार्यालयले जनाएको छ । अन्य वडाहरुले भने यसको तयारी नै थालेका छैनन् । भोलि वडाको बैठक बसेर भत्ता वितरणबारे निर्णय गरिने वडा नं. १० का वडाध्यक्ष दुर्योधन गुरुङले बताए । त्यस्तै वडा नं. २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले पनि घरघरमा भत्ता वितरण गर्नेबारे व्यवस्था मिलाउन बाँकी रहेको जानकारी दिए ।

भत्ताको लागि सर्वसाधारणलाई हतारो
कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि जारी लकडाउनले गर्दा समस्यामा परेका सर्वसाधारणले सामाजिक सुरक्षा भत्ताको निकै हतारो गर्न थालेका छन् । लकडाउनका बीच बिर्तामोड ३ नं. वडा कार्यालयमा भत्ता पाउनका लागि चेक बुझाउने बृद्धबृद्धाहरुको भीड देखिएको छ । प्रहरी र नगर प्रहरीले उनीहरुलाई सामाजिक दुरी कायम गर्न लगाउने गरेका छन् । भत्ता पाउनकै लागि बिर्तामोड —९ की प्रमिला राजवंशी ३ नं वडा कार्यालय पुगेकी थिइन् । निराश भएर फर्किएकी उनले भनिन् ‘खोई, हाम्रो वडामा कहिले वितरण गर्ने हो ।’ लकडाउनका बीच झापाका अन्य स्थानीय तहले पनि घरघरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्