झापा, बैशाख १० । बुधबार तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजनामा कोरोना पोजिटिभ देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमितमध्ये दुईजना विराटनगर महानगरपालिका वडा नम्बर १५ र १७ का हुन् भने एकजना उदयपुरको मस्जिदमा बस्दै आएका भारतीय नागरिक हुन् । संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका उनीहरुलाई अस्पताल ल्याउने तयारी भइरहेको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । सातजना भने डिस्चार्ज भएका छन् ।

अन्य सबैको विभिन्न अस्पतालमा उपचार भइराखेको छ ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार आरडीटी विधिबाट ३१ हजार ४ सय २० र पीसीआर विधिबाट ९ हजार ११ गरेर बुधबारसम्म कुल ४० हजार चार सय ३१ जनामा कोरोना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ४ सय ३६ जनाको नमुना परीक्षण भएको उनको भनाइ छ । सरकारले आरडीटी टेस्ट ७७ जिल्लामा गरिरहेको छ । मन्त्रालयका अनुसार अहिलेसम्म प्रदेश १ मा तीन हजार ९७, प्रदेश २ मा तीन हजार ९ सय २५, बागमती प्रदेशमा ५ हजार ९ सय १५, गण्डकी प्रदेशमा ४ हजार २ सय ७२, प्रदेश ५ मा २ हजार ५ सय ९६, कर्णाली प्रदेशमा ४ हजार ३०८ र सुदूरपश्चिम प्रदेशमा सात हजार ३०७ जनामा कोरोना परीक्षण भएको छ । अहिलेसम्म मुलुकभरमा क्वारेन्टाइन आठ हजार ५९५ जना रहेका छन ्। उपत्यका ३ र बाहिर ९२ गरेर आइसोलेसनमा ९५ जनाले उपचार गराइरहेका छन् । अहिलेसम्म संक्रमितको संख्या ४५ पुग्दा डिस्चार्ज हुनेको संख्या सात पुगेको छ । चारजनाको यसअघि नै डिस्चार्ज भएको थियो । मंगलबार धनगढीको सेती अस्पतालमा उपचार गराइरहेका २४ वर्षीय पुरुषको डिस्चार्ज भएको थियो भने बुधबार सेती अस्पतालमै १९ दिनदेखि उपचार गराइरहेका अर्का ४० वर्षीय पुरुष डिस्चार्ज भएका छन् । त्यसैगरी टेकु अस्पतालमा उपचार गराइरहेका ३२ वर्षीय पुरुष २९ दिन लामो उपचारपछि डिस्चार्ज भएको प्रवक्ता देवकोटाले जानकारी दिए। यसअघि नै चारजनाको डिस्चार्ज भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्