झापा,बैशाख १० । उदयपुरको त्रियुगा ३ भुल्केस्थित नुरी मस्जिदमा बस्ने सबै १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघिको परीक्षणमा कोरोना नदेखिएपछि मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएका तीन जनामा पनि बुधबार कोरोना पुष्टि भएको हो ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणको क्रममा बुधबार भारतका २४ वर्षीय नागरिक तथा विराटनगर १७ का ६० वर्ष र ७२ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित पहिचान भएकालाई विराटनगर अस्पतालमा ल्याउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि गत शुक्रबार सो मस्जिदमा बस्दै आएका १ नेपाली र ११ भारतीयमा कोरोना पुष्टि भएको थियो । मस्जिदमा ४ नेपाली र १२ भारतीय बस्दै आएकोमा सो दिन ४ जनामा कोरोना नदेखिएपछि टाँडीस्थित क्वारेन्टाइनमा लगिएको थियो । उनीहरुको थप परीक्षण गर्दा शनिबार अर्का व्यक्तिमा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको छ । क्वारेन्टाइनमा बसेकाहरुको अर्को पटक परीक्षण गर्दा बुधबार सबैमा कोरोना पुष्टि भएको हो । मस्जिदमा बस्ने चार नेपाली विराटनगर १७ घर भएका हुन् । उनीहरु सबै संक्रमित भएका छन् ।
भुल्केको मस्जिदका १२ जनामा कोरोना देखिएपछि बस्तीमा गरिएको परीक्षणमा मंगलबार थप ११ जनामा संक्रमण देखिएको थियो । योसँगै उदयपुरमा संक्रमितको संख्या २७ पुगेको छ । उनीहरुको विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्