मेचीनगर ,१० बैशाख । लकडाउनका कारण अप्ठ्यारोमा परेका सर्वसाधारणको दैनिकी सहज बनाउनका लागि मेची उद्योग बाणिज्य संघले प्रत्येक नगरवासीको घरघरमा खाद्यान्न सर्वसुलभ मुल्यमा बिक्री गर्ने गरेको छ ।


लकडाउनका बखत दैनिक अत्यावश्यक खाद्यान्न र तरकारी बाणिज्यसंघले नगरका १५ वटै वडामा पुर्याउने गरेको छ । यस्तो परिस्थितिमा उपभोक्ताहरुलाई खाद्यान्नको अभाव नहोस् र विचौलियाबाट ठगिनु नपरोस् भन्ने उद्घेश्यले लकडाउन शुरु भएदेखि नै सर्वसुलभ मुल्यमा छिटो छरितो ढंगले यस्ता सामग्री उपलब्ध गराउदैं आएको संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताए ।

‘विश्वव्यापी महामारीको रुपमा फैलिदैं आएको नोवल कोरोना भाइरसका कारण देश लकडाउनका अवस्थाबाट गुज्रिरहेको छ’ अध्यक्ष तिम्सिनाले भने, ‘यस्तो अवस्थामा मेचीनगर क्षेत्रमा खाद्यान्न तथा सागसब्जी आपूर्तिमा आम उपभोक्ताहरुको सहजताका लागि दैनिकजसो हामी विहान, दिउँसो र साँझ प्रत्येक उपभोक्ताहरुको घरघरमा पुग्ने गरेका छौ । ’

संघले यस्तो कार्यको सहजीकरण एवम् समन्वयका लागि नगरका विभिन्न वडाहरुमा संघका जिम्मेवार पदाधिकारीहरुलाई सम्पर्क व्यक्तिका रुपमा तोकेको उद्योग उपाध्यक्ष किशोर क्षेत्री कपिलले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्