भद्रपुर, ११ बैशाख । भद्रपुर— १ हिमाली चौक पृथ्वीनगरका ३१ वर्षीय विमल श्रेष्ठले रोजगारीका सिलसिलामा ८ वर्ष परदेशी भूमिमा पसिना बगाउन पुगे । एक वर्ष जति भारतमा होटल व्यवसाय गरे, सिंगापुरमा २ वर्ष कुक भएर बिताए अनि ५ वर्ष दक्षिण कोरियामा कृषि फर्ममा कृषि मजदुर भएर पसिना बगाए । हुन त, विमलको परदेश यात्रा रहर थिएन । बाध्यताले गर्दा अर्काको भूमिमा रगत पसिना बगाउनु परेको थियो । यस यात्राले उनलाई अहिले आएर आफ्नै माटोमा केही गर्ने हिम्मत पलाएको छ । अब उनी परदेशी माटोमा होइन आफ्नै देशको माटोमा निरन्तर रगत पसिना बगाउने अभियानमा छन् । यस वर्ष विमलको अभियानमा बन्दाबन्दीले नराम्ररी प्रभाव पारिरहेको छ ।

उत्पादन छ, बजारीकरण बन्द हुँदा आम्दानीका बाटाहरू रोकिएका छन् ।विमलले एक वर्ष अगाडिबाट भद्रपुर— १ हिमाली चौक आसामे बस्तीमा किचकबध कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको गाईगोठ भाडामा लिएर ५ वटा माउ गाई र ३ वटा भंैसी राखेर व्यावसायिक पशुपालन सुरू गरेका छन् । श्रेष्ठले २ वटा गुजराती मुडुली होलस्टेन गाई १ लाख ५० का दरले खरिद गरेर ल्याएका छन् भने प्रतिगाई २५ लिटरसम्म दूध आउने गरेको छ । यस्तै स्थानीय जर्सी जातका ३ वटा गाईले प्रतिगाई १० लिटरसम्म दूध आउने गरेको उनको भनाइ छ । यस्तै उन्नत दोक्ला जातका ३ वटा भैंसीसमेत पालेका श्रेष्ठको प्रतिभैंसी १० लिटरसम्म दूध उत्पादन हुँदै आएको छ ।
दैनिक सय लिटरभन्दा बढी दूध उत्पादन गर्ने विमललाई दूध बिक्री गर्ने वजारको समस्या भएको छ । दक्षिण कोरियाको ५ वर्षे अनुभवले व्यावसायिक पशुपालनको क्षेत्रमा होमिएका उनी वजारको उचित प्रबन्ध हुने हो भने दैनिक ५ सय लिटर बढी दूध उत्पादन गर्ने सोचमा छन् । उनले आफ्नो फार्मबाट उत्पादन गरिरहेको ८० लिटर दूध किचकबध कृषि सहकारी संस्था लिमिटेडको दूध संकलन केन्द्रलाई बिक्री गर्दै आएका छन् । सहकारीमा आबद्ध स्थानीय पशुपालक कृषकका सानो सानो परिमाणको दूध संकलन गर्ने लक्ष्यका साथ खोलिएको चिस्यान केन्द्रले दैनिक २५० लिटरभन्दा बढी दूध संकलन गर्न नसक्ने भएपछि श्रेष्ठको गाई भैंसी फार्मले बजारीकरणकै कारण ठूलो व्यावसायिक स्तरवृद्धि हुने अवसर पाउन सकेको छैन । पछिल्लो समय बन्दाबन्दीले अझ नराम्ररी प्रभाव पारेपछि विमलको गाई भैसी फार्म झनै संकटमा परेको छ । उत्पादित दुग्धजन्य उत्पादन बजारमा जान नसक्ने अवस्थाले फार्मका गाई भैसी बचाउनै समस्या उत्पन्न भएको छ ।
श्रेष्ठले साउनबाट ५ वटा गुजराती मुडुली होलस्टेन गाई थप्ने सोच पालेका छन् । यी गाई थपेपछि सय लिटर बढी दूध उत्पादन बढ्छ । यो उत्पादनको बजार सुनिश्चित भने भएको छैन । हाल उनको फार्मबाट उत्पादित गाई र भैंसीको दूध सरदर ५० रूपैयामा बिक्री भइरहेको छ । यो मूल्य लागतको तुलनामा फाइदाजनक भने छैन । बजारमा दूध डेरीले फ्याट झिकेर ७० रूपैयाँसम्ममा बेचिरहेका भए पनि कृषको उत्पादनले तुलनात्मक रूपमा कम मूल्य पाइरहेको विमलको भनाइ छ । यस वर्ष २ बिगाहा जग्गा वार्षिक २५ हजार भाडा तिर्ने गरी घाँस खेती गरेर पशु आहारको व्यवस्थापन गरिरहेका उनले २ जनालाई रोजगारी समेत दिएका छन् । आगामी वर्षबाट पशुपालन र तरकारी खेतीका साथसाथै अगाडि लाने सोच पालेका उनले रोजगारीका लागि विदेशिने युवाहरूलाई अवसरका ढोकाहरू आफ्नै देशमा रहेको अनुरोध गर्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्