झापा, बैशाख ११ । राष्ट्रिय जनता पार्टी र समाजवादी जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छन् ।

आज बिहान ११ बजे १६ मिनेटमा दुई दलबीच एकताका लागि भएको सहमति पत्र दर्ता गराइएको राजपाका प्रवक्ता केशव झाले जानकरी दिए ।’हामीले सहमति पत्र सहितको निवेदन दिएका छौँ। हामीले १३८८ नम्बरको दर्ता पाएका छौँ’, झाले भने, ’अन्य कागजात हामी लकडाउनपछि बुझाउँछौँ ।’ राजपा र समाजवादी पार्टीबीच बुधबार अबेर पार्टी एकीकरणको सहमति भएको थियो। अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टै हुनेछ। त्यस्तै झण्डा मसाल अंकित यसअघिको समाजवादीको हुनेछ भने चुनाव चिह्न राजपाको छाता हुनेछ । दर्ताका लागि आयोगमा बुझाइएको निवेदनमा राजपाका तर्फबाट अध्यक्ष मण्डलका नेता शरदसिंह भण्डारी र समाजवादीका तर्फबाट उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्।

यसैबीच जनता समाजवादी पार्टीले आफ्ना नेता तथा पूर्वराज्यमन्त्री सुरेन्द्र यादव अपहरण मुक्त भएको बताएको छ । तत्कालीन समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख रहेका विश्वदीप पाण्डेले काठमाडौंको मेरियट होटेलबाट यादव अपहरणमुक्त भएको बताएका हुन्। पाण्डेले यादवलाई सरकारको निर्देशनका महोत्तरीबाट काठमाडौं ल्याएर होटेलमा राखिएको बताएका छन्। उनले ट्वीटमा लेखेका छन्, ’पूर्व स्वास्थ्यराज्यमन्त्री तथा सांसद सुरेन्द्र यादव मेरियट होटलमा प्रमले बनाएको घेरा तोडेर सुरक्षित स्थानमा राख्न उहाँलाई लिन म जाँदैछु ,यादवजी पिएसओलाई पनि झुक्याएर निस्कन सफल हुनुभएको छ। ओली गुन्डागर्दी हद भो, अब ओलीलाई बिदा गरौं।’ समाजवादी पार्टीले बुधबार नै आफ्ना सांसद यादवको प्रहरी लगाएरै अपहरण गरेको आरोप लगाएको थियो ।समाजवादी पार्टी र राजपा एकता घोषणा हुँदै गर्दा केही नेताहरुलाई प्रधानमन्त्रीको निर्देशनमा अपहरण गरिएको समाजवादी पार्टीले आरोप लगाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्