राजगढ, बैशाख ११ । सीमा प्रहरी वल भागुडुब्बाका इन्चार्ज अमर बिक लकडाउन शुरु भएयता सीमा निगरानीमा लागिपरेका छन् ।

कोरोना भाइरसका संक्रमितहरु भारतबाट नेपाल आउन सक्ने जोखिम बढेपछि उनको कमाण्डमा सशस्त्र प्रहरीहरुले यतिखेर सीमामा चौबिसै घण्टा गस्ती गरिरहेका छन् । कोरोना संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनमा हुनसक्ने घुसपैठ रोक्न सीमा क्षेत्रमा गौडैपिच्छे सुरक्षा व्यवस्था कसिलो बनाइएको सशस्त्र प्रहरी निरीक्षक बिकले बताए । भारतसँग खुला सिमाना रहेको झापाको १४४ किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरी वलले ५८ वटा अस्थायी पोस्ट थप गरेको छ । झापाको सीमा क्षेत्रमा सशस्त्रको ८ वटा स्थायी पोस्टहरु पहिल्यैदेखि तैनाथ थिए ।भागुडुब्बा स्थायी पोष्टको नेतृत्व गरिरहेका बिकले पिलर १२६ देखि १२९ सम्मको नेपाल भारत सीमा हेर्ने गरेका छन् । त्यस क्षेत्रमा ९ वटा अस्थायी पोष्ट बनाएर नियमित गस्ती भइरहेको उनले बताए । सीमासँगै आफ्नो एरियामा नियमित निगरानी बढाएको इन्चार्ज बिकले बताए । त्यसक्रममा केही दिनअघि तीन जना शंकास्पद ब्यक्तिलाई पक्राउ गरी क्वारेन्टाइनमा बुझाएको उनले जानकारी दिए । ती ब्यक्तिहरु भारतबाट नेपाल छिरेका थिए ।

सीमा क्षेत्रमा अस्थायी पोष्ट निर्माण गर्न स्थानीय तहले सहयोग गरेको छ । पोष्ट निर्माण गर्न आबश्यक निर्माण सामग्रीसँगै बिजुली, खानेपानी लगायतका सुविधा उपलब्ध गराइएको बाह्रदशी १ का वडाध्यक्ष शम्भुसिंह राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्