झापा, बैशाख ११ । उदयपुरको भुल्केमा फैलिएको कोरोना भाइरस नुरी मस्जिदका धर्मगुरुबाट नभई अरुबाट फैलिएको निश्कर्ष नजिक प्रदेश सरकार पुगेको छ ।

भारतको उत्तर प्रदेशमा उर्दु भाषा अध्ययन गरेर घर फर्किएका युवा र दुबईबाट आएका व्यक्तिमध्ये एकजनाबाट संक्रमण फैलिएको निष्कर्षमा पुग्न लागेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।
संक्रमित क्षेत्र उदयपुरमै बिहीबार आयोजित सर्ववक्षीय छलफलमा मन्त्री घिमिरेले जमातीबाट संक्रमण फैलिएको आधार नदेखिएको बताए । सुक्ष्म अध्ययनले भारतबाट आएका युवाकै घरका ५ सदस्यमा संक्रमण देखिएकोले त्यहिबाट अन्यत्र फैलिएको आधार बलियो बनेको उनको भनाइ छ । यद्यपि दुबईबाट आएकाको बारेमा पनि अध्ययन भइरहेको उनले जानकारी दिए । उर्दु भाषा अध्ययन गर्न गएका युवाका अतिरिक्त नयाँ दिल्लीमा रोजगारी गर्ने अर्का एक र दुवईमा वैदेशिक रोजगारीबाट एक युवा फागुन दोस्रो हप्तातिर भुल्के घर फर्केको जानकारी स्थानीयले दिएका छन्। विदेशबाट फर्केकाहरुमा संक्रमण भएको हुनसक्ने र उनीहरुबाटै फैलिएको अनुमान छ । उनीहरुमध्ये १ जना अटो चालक, मस्जिद गईरहने तथा बिभिन्न सामाजिक गतिबिधिमा संलग्न हुने क्रममा संक्रमण बाँडिएको हुनसक्ने आँकलन छ । संक्रमण कहाँबाट फैलिएको भन्नेमा करिब निश्कर्षमा पुगेकोले अब उनीहरुसँगको सम्पर्कमा रहेकाहरुको खोजी, परीक्षण र उपचारलाई व्यापक पारिने मन्त्री घिमिरेले बताए । अहिलेसम्मको अध्ययनमा उनीहरु २ सय ५१ जनाको सम्पर्कमा आएको देखिएकोले अब उनीहरुको परीक्षण गरिने उनले बताए । नेपाली सेनाको पूर्वी पृतनापतिसहित संक्रमित क्षेत्र आउनुभएका मन्त्री घिमिरेले सरोकारवालासँग छलफल गरेका थिए । उनले विराटनगरमा सय जनाको उपचार गर्ने क्षमता रहेकोमा त्यसले धान्न नसक्ने अवस्था सृजना हुँदै गएकाले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तत्काल १ सय जनालाई उपचार गर्न सकिनेगरी तयारी भइहरकेो जानकारी दिए ।

उदयपुरमा कोरोना उपचार केन्द्र बनाउनका लागि एक करोड बजेट विनियोजन भइसकेकाले जानकारी दिँदै मन्त्री घिमिरेले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिए । त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले संक्रमित क्षेत्रमा आउजाउँ भएका २ सय ५ जनाको स्वाव र २ हजार १ सय जनाको र्यापिड परीक्षण तत्काल गर्नुपर्ने बताए ।
थप ७८ जनाको स्वाब संकलन
यसैबीच कोरोना संक्रमित बसेको उदयुरका दुई मस्जिद क्षेत्रका ७८ जनाको स्वाब बिहीबार संकलन गरिएको छ । संक्रमित जमातीहरु बसेको चौदण्डीगढी नगरपालिका–५ सिवाई र त्रियुगा नगरपालिका –३ मोथिहाइको मस्जिद आसपासमा बिहीबार स्वाब संकलन गरिएको हो ।संक्रमितसँग सर्म्पका रहेका सिवाईका ५ महिलासहित ५८ र मोथिहाइका ४ महिला सहित २० जनाको स्वाब विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयबेन्द्र यादवको नेतृत्वमा आएको चिकित्सक टोलीले संकलन गरेको हो । संकलित स्वाब परीक्षणका लागि विराटनगर लगिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्