झापा, बैशाख ११ । भोजपुरका एक जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिए । बिहीबारसम्ममा १० जना डिस्चार्ज भएका छन् । अरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । यसअघि बिहीबार नै १४ वर्षीय बालक र ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको पुष्टि भएको थियो ।

बिहीबार ललितपुरको पाटन अस्पतालमा उपचार दुईजना कोरोना जितेर डिस्चार्ज भएका छन्। पाटन अस्पतालमा उपचाररत कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका थिए। त्यसैगरी बिहीबार नै धनगढीको सेती अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया महिलासमेत ११ दिन उपचार गराएर डिस्चार्ज भएकी छन् ।नेपालमा डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ । बिहीबार तीन जनाको डिस्चार्ज भएसँगै निको हुनेको संख्या १० पुगेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्