झापां, १२ वैशाख । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड—१९ )को संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५० हजारनजिक पुगेको छ ।

विभिन्न तथ्यांक निकाल्ने संस्था वल्ड मिटर्स डट इन्फोका अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९ हजार ८ सय ४५ पुगेको छ । अमेरिकामा बिहीबार मात्रै कोरोनाबाट २ हजार ३ सय २५ जनाको ज्यान गएको छ भने साढे ३१ हजार नयाँ संक्रिमत थपिएका छन् । योसँगै अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ८ लाख ८० हजार पुगेको छ ।
यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना लागेर निको हुनेको संख्या ८५ हजार ९२२ रहेको छ । अहिले ७ लाख ४४ हजार ४३७ जनामा कोरोना सक्रिय रहेको वल्ड मिटर्सले जनाएको छ । तीमध्ये १५ हजरको भने अवस्था गम्भीर रहेको छ । अमेरिकामा आइतबार दैनिक मृत्यु संख्या निकै घटेको थियो । आइतबार त्यहाँ कोरोना संक्रमणका कारण १ हजार ५६१ जनाले ज्यान गुमाएका थिए । तर सोमबारयता फेरि मृत्यु हुनेको संख्या पहिलेकै जस्तै हुने गरेको पाइन्छ । सोमबार एकैदिन त्यहाँ कोरोना भाइरसका कारण १ हजार ९३९ को मृत्यु भएको थियो ।

त्यहाँको सबैभन्दा बढी प्रभावित राज्य न्यूयोर्कमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार ८६१ पुगेको छ । बिहीबार मात्रै त्यहाँ ५०७ को मृत्यु भएको छ भने ६ हजार ३३१नयाँ संक्रमित फेला परेका छन् । अहिलेसम्म न्यूयोर्कमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार पुगेको छ । अर्को बढी प्रभावित राज्य न्यूजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । त्यहाँ ५ हजार ४२८ जनाले ज्यान गुमाएका छन् । बिहीबार मात्रै त्यहाँ ३६५ जनाको मृत्यु भएको छ भने ४ हजार १६० नयाँ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्