मेचीनगर, वैशाख १२ । कोरोना भाइरस संक्रमण रोकथामका लागि झापाका ८ वटै नगरपालिकाले एउटै धारणा बनाएका छन् ।

मेचीनगर नगरपालिकाको सभाकक्षमा हिजो आयोजित झापाका विभिन्न पालिका प्रमुखहरुको भेलाले कोरोना संक्रमण नियन्त्रणका लागि साझा धारणा बनाएका हुन्।
सरकारले चैत ११ गतेदेखि लागु गरेको लकडाउनको समीक्षा गर्दै त्यसमा एकरुपता ल्याउने सहमति गरेको मेचीनगर नगरपालिकाले जनाएको छ ।
प्रमुखहरुको भेलामा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि हाल कार्यान्वयनमा रहेको लकडाउनलाई प्रभावकारी बनाउन खाद्यान्न तथा सागसब्जी पसल खोल्ने समयतालिका अझ व्यावहारिक बनाउने, सबै पालिकाभित्र खाद्यान्न अभाव हुन नदिन नगरपालिकाभित्र रहेको खाद्य उद्योग सञ्चालनको लागि मापदण्ड तयार गरी सञ्चालनका लागि सहजीकरण गर्ने, लामो समयसम्म लकडाउन जारी रहेमा खाद्य संकट सिर्जना हुन सक्ने तर्फ सचेत रही खाद्यान्न वालीको लागि इन्धन र बीऊको व्यवस्थापन गर्न तथा नगदे बाली, चिया बगान र उद्योग सञ्चालनको मापदण्ड तयार गरी सञ्चालन गर्न सहजीकरण र समन्वय गर्ने, कृषकहरुलाई आवश्यकताअनुसार कृषि मल उपलब्ध गराउन साल्ट ट्रेडिङ्ग र नेशनल ट्रेडिङ्ग लिमिटेडसँग समन्वय गरी आपूर्ति व्यवस्था मिलाउने र सोको व्यवस्थापनका लागि प्रदेश —१ सरकारलाई अनुरोध गर्ने सहमति भएको जनाइएको छ ।
यसैगरी, स्वास्थ्यकर्मीको लागि पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री व्यवस्था गर्न कठिनाइ भइरहेकोमा व्यवस्थापनको लागि प्रदेश तथा नेपाल सरकारसमक्ष अनुरोध गर्ने, आरटिडी तथा पीसीआरको समेत पर्याप्त व्यवस्थापन गर्न सहयोगको लागि सबैले सम्बद्ध निकायमा सामुहिकरुपमा पहल गर्ने, आपतकालीन राहत वितरणको कार्यलाई व्यवस्थापन गर्न एकद्वार वितरण प्रणाली अपनाउने, गाउँवस्तीसम्म अत्यावश्यक खाद्य सामग्री विक्री वितरण गर्न निजी क्षेत्रसँग समन्वय तथा सहकार्य गर्ने, आपतकालीन अवस्थामा खाद्य सामग्री वडा तथा टोल वस्तीमा स्थानीय स्तरमै स्वव्यवस्थापन गर्न वडा समिति र टोल विकास समितिहरुलाई प्रेरित गर्ने, काठमाडौँ लगायत देशका विभिन्न स्थानबाट आफ्ना नागरिकको उद्दार गरी आआफ्ना पालिकामा ल्याउने सम्बन्धमा आगामी २०७७ बैशाख १६ गते बिर्तामोड नगरपालिकामा बस्ने बैठकपछि निर्णय भए अनुसार मात्र गर्ने, दमक, काँकरभिट्टा लगायतका झापा प्रवेश गर्ने नाकाबाट आउने सवारी साधन र मानिसको प्रवेशमा सम्बद्ध पालिकाले उच्च सतर्कता अपनाउने, कोरोना भाइरसको सम्भाव्य संक्रमणको रोकथाम र नियन्त्रणको काममा पालिकाहरुबाट सम्पादन भइरहेको कार्यमा सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, राजनीतिक दल, पत्रकार, निजी क्षेत्र, नागरिक समाज, स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीहरु लगायत सम्बद्ध सबैलाई धन्यबाद ज्ञापन गर्ने निर्णय समेत भेलाले गरेको छ ।

भेलामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, शिवसताक्षी नगरपालिकका प्रमुख चन्द्रकुमार शेर्मा उपप्रमुख भोजकुमारी दाहाल, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र गौरादह नगरपालिकाका प्रमुख रोहितकुमार साहको सहभागिता थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्