बिर्तामोड, १२ बैशाख । सरकारले यसै हप्ता जारी गरेको अध्यादेशविरुद्ध नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले देशभर विरोध प्रदर्शन गरेको छ ।

विद्यार्थी संघको केन्द्रीय निर्देशन अनुसार झापासहित देशभर विरोध प्रदर्शन गरिएको हो । सोही अनुसार झापाका बिर्तामोड, दमक, सुरुङ्गा, भद्रपुर, मेचीनगर, बुधबारे लगायतका स्थानमा विरोध प्रदर्शन गरिएको छ ।
कोरोना संक्रमण जोखिम न्यूनीकरणका लागि सरकारले घोषणा गरेको बावजुद पनि लकडाउनको नियम पालना गर्दै विद्यार्थीहरुले अध्यादेश फिर्ता गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले ‘संविधान मिच्न पाइदैन लोकतन्त्र विरोधी अध्यादेश चाहिंदैन, संविधान विपरित अध्यादेश खारेज गर, नागरिक सर्वोच्चता कायम गर, जनता भोकमरी र महामारीमा, सरकार लिप्त भ्रष्टाचारमा’ लगायतका नारा लेखिएका प्लेकार्ड छातीमा राखेर विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
बिर्तामोडको मुक्तिचोकमा पोषराज कट्वालको नेतृत्वमा रहेको टोलीले पोष्टर छातीमा राख्दै प्रदर्शन गरेका थिए भने सुरुङ्गामा नेविसंघका जिल्ला अध्यक्ष राजेन्द्र उप्रेतीको नेतृत्वमा विरोध प्रदर्शन गरिएको थियो । त्यसैगरी दमकमा भवानी काफ्ले नेतृत्वको टोलीले मुख्य सडकमा उभिएर विरोध प्रदर्शन गरेका हुन् ।
कोरोना भाइरसको संक्रमण रोकथाम र जनतालाई राहतको व्यवस्था गर्नुपर्नेमा सत्ता र शक्तिको दुरुपयोग गर्दै सरकार उल्टो बाटो हिंडेको नेविसंघका क्षेत्रीय सभापति पोषराज कट्वालले बताए । उक्त अध्यादेश पारितको घटनाले लोकतन्त्र नै धरापमा पर्ने अर्का प्रदर्शनकर्ता याम भुजेलको भनाइ थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्