विष्णु सुब्बा ।
दमक,१३ बैशाख । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका झापा दमकका ६२ वर्र्षीय वृद्धको घरमा बुधबारमात्र मरिमराउको काम सकिएको थियो ।
संक्रमण पुष्टि भएका वृद्धको सासुआमाको १२ दिनअघि निधन भएको थियो । आमाको निधन भएपछि संक्रमित वृद्धकी श्रीमती र दिदीसासु दमकस्थित उनको घरमा किरियामा बसेका थिए । उनकी दिदीसासु इटहरीको हाँसपोसाबाट दमकस्थित उनको घरमा आएर किरियामा बसेकी थिइन् ।
काममा बस्ने क्रममा उनको घरमा हाँसपोसाबाट दिदीसासुसहित २, दमक नगरपालिका ६, ७ र ९ नम्बर वडाबाट ४ र ४ जनासहित करीब ३५ जना आफन्त आएका थिए । संक्रमित पुष्टि भएका वृद्धका छोरा एक महिनाअघि दुबईबाट घर फर्किएका थिए ।
फागुन ३० गतेको नेपाल एयरलाइन्समार्फत छोरा काठमाडौं झरेका थिए । तीन दिन काठमाडौंमै बसेका छोरा चैत ४ गते बसमार्फत दमक घर आइपुगेका थिए । बिहीबार दमक नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले घरमै पुगेर र्यापिड डायग्नोष्टिक टेस्ट आरडीटी परीक्षण गर्ने क्रममा छोरालाई कोरोनाको एन्टिबडी पोजिटिभ देखिएको थिएको थियो । दुई पटकको परीक्षणमा समेत छोराको एन्टिबडी पोजेटिभ देखिएपछि तत्काल उनकी बुहारी, श्रीमती र उनको पनि परीक्षण गरिएको थियो । परीक्षणका क्रममा बुहारीको आरडीटी नेगेटिभ देखिएको थियो भने वृद्ध र उनकी श्रीमतीको रिपोर्ट पोजेटिभ आएको थियो ।
पिसिआर रिर्पोर्ट पोजेटिभ आएसगै सबैको ट्राभल हिस्ट्रि खोज्न सुरु गरिएको छ । संक्रमित भएको वडा, दमक ३ पूर्ण रुपमा सिल गरिएको छ । संक्रमित र परिवारको सबैको ट्राभल हिस्ट्री खोज्न सुरु गरिएको हो । टोल विकास समितिलाई, आफ्नो टोलको सुरक्षा आफै गर्न निर्देशन गरिएको र आवश्यक परेर कतै जानु परे वडा प्रतिनिधि वा प्रहरीलाई खबर गरेर मात्र घरबाट निस्कन वडा अध्यक्ष नबिन बरालले अनुरोध गरेका छन् ।
तत्काल दमक अस्पतालको आइसोलेसनमा भर्ना गरिएका चारै जना उनीहरुको शुक्रबार थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । त्यहाँको प्रयोगशालावाट छोरामा नभई बुवामा भने कोरोना संक्रमण देखिएको थियो । यसैवीच,नगरपालिकाले कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई उपचारका लागि राति नै बिराटनगर लगिएको छ । कोशी अञ्चल अस्पतालमा बनाईएको कोभिड अस्पतालमा उपचारका लागि उनलाई लगिएको हो ।दमक अस्पतालको एम्बुलेन्समार्फत उनलाई राति नै विराटनगर लगेको हो । ती ब्यक्ति सुगरका विरामी रहेको पनि रहेको नगरपालिकाका स्वास्थ्य शाखा निरीक्षक बद्रि बरालले बताए ।
संक्रमण आसपास आउँजाउँमा निषेध
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यक्रम दमक नगर समन्वय समितिले दमकमा पहिलोपटक दमक— ३ का एक पुरुषमा कोरोना संक्रमण भेटिएपछि संक्रमित भएको त्यस क्षेत्रमा आवतजावत निषेध गराएको छ ।
नगरपालिकामा राति नै बसेको समितिको बैठकले कोरोना संक्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाउदै परीक्षण तीव्र बनाउने निर्णय गरिएको प्रवक्तासमेत रहेकी उपप्रमुख गीता अधिकारीले विज्ञप्ति निकालेर जनाएकी छन् ।
कोरोना भाइरस संक्रमण थप बढ्न सक्ने भन्दै नगरपालिकाले दमकको उत्तरमा मावा पुल देखि बेलडाँगी १ सम्म ,दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उतर, उतर पूर्वमा हिमाली माविदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्मको क्षेत्रमा कसैलाई पनि आवतजावतलगायत कुनै पनि गतिबिधि नगर्न,नगराउन निषेध गरेको छ । संक्रमण फैलिन नदिन सबैलाई घरमै बसिदिन समेत नगरपालिकाले अनुरोध गरेको छ ।
दमकका विभिन्न ३ वटा क्वारेन्टाइनमा ४१ जना रहेका छन् । दमक— ४ स्थित मानसरोवरमा २१ जना, दाहाल प्रतिष्ठानमा ६ जना र जामे मस्जिदको क्वारेन्टाइनमा १४ जना रहेका छन् ।