सिल गरिएको भुटानी शरणार्थी शिविर क्षेत्र । तस्बिरः प्रतिदिन


मनिषा चम्लागाईँ
झापाको दमक नगरपालिका –३का एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै दमकमा कोरोना संक्रमणको सन्त्रास छाएको छ । दमकका ६२ वर्षीय वृद्धमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
संक्रमण फैलन नदिन दमकको केही भागमा शनिबार विहानदेखि सिलसमेत गरिएको छ । दमक नगरपालिका–३ नम्बर वडा सबै, २ र ४ को केही भाग सिल गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । उक्त वडाका नागरिकको कोरोना संक्रमण परीक्षण गर्न लागि सिल गरिएको दमक नगरपालिकाले जनाएको छ ।
पूर्वमा हिमालय माविदेखि बेलडाँगी १सम्म, उत्तरमा मोरङको मिक्लाजुङ र दमक जोड्ने मावा पुलदेखि पूर्वको क्षेत्र (बेलडाँगी १सम्म), दक्षिणमा ताराबारीकृष्ण मन्दिरदेखी राजमार्गसम्म र पश्चिममा ताराबारीदेखि मिक्लाजुङ जोड्ने मावाखोला पुलसम्मको सम्पूर्ण क्षेत्र सिल गरिएको इप्रका दमकका प्रमुख पण्डितले बताए । “सिल गरिएको क्षेत्रको चारै तिर प्रहरी खटाएका छौँ, उच्च सतर्कता अपनाइएको छ” प्रमुख पण्डितले भने, “आवश्यकता अनुसरा थप प्रहरीसमेत परिचालन गरिरहेका छौँ ।” यससँगै नगरपालिका र स्थानीय प्रशासनले दमकको उत्तरी क्षेत्रमा रहेको भुटानी शरणार्थी शिविरलाई पनि शुक्रबारदेखि नै सिल गरेको छ । शिविरमा ४६ सय बढी मानिसको बसोबास रहेको छ ।
गत चैत ४ गते दुबईबाट दमक आइपुगेका एक युवाको बिहीबार ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि उनका परिवारका आमा, बुबा र श्रीमतीको पनि परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनकी श्रीमतीको आरडीटी नेगेटिभ देखिएको थियो भने बुबा र आमाको रिपोर्ट पोजिटिभ आएको थियो । यससँगै शुक्रबार चारै जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । दुबईदेखि आएपश्चात युवा आफन्त र छरछिमेकी गरेर १ सय जनाबढीको सम्पर्कमा गएको स्रोतले जनाएको छ । उनको सम्पर्कमा आएका अन्यकोसमेत पहिचान गरेर आरडीटी परीक्षण तीब्र पार्ने जनाइएको छ ।
पीसीआर परीक्षणबाट युवाका बुबालाई कोरोना संक्रमण पुष्टि भएको हो । उनको अहिले विराटनगर स्थित कोरोना हस्पिटलमा उपचार भइरहेको छ । विदेशबाट आएका युवा, उनकी श्रीमती र आमालाई दमक अस्पतालको आइसोलेसन वाडमा राखिएको दमक अस्पतालका मेसु डा.खड्क फागोले बताए । दमक अस्पतालको आइसोलेसनमा अहिले ३ जना मात्र रहेको फागोले बताएका छन् । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. फागोले जानकारी दिए । दमक नगरपालिकाभित्र दाहाल प्रतिष्ठानमा र मानसरोवर गरेर २वटा क्वारेन्टाइन रहेका छन् । दाहाल प्रतिष्ठानमा ६ र मानसरोवर क्वारेन्टाइनमा २१ जना गरेर जम्मा २७ जना रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्