बिर्तामोड । बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आम उपभोक्ताहरुको हितलाई ध्यानमा राखी आजदेखि खानेपानीको महशुल अनलाइनबाट भुक्तानी लिन सुरु गरेको छ ।

कोभिड–१९ संक्रमणको सन्त्रासले नगदको कारोबार गर्न असहज भएकाले संस्थाले अनलाइन भुक्तानीको प्रबन्ध मिलाएको हो । आजबाट बिर्तामोड साना शहरी खानेपानी उपभोक्ता संस्थाका सदस्यहरुले घरमै बसेर खानेपानीको महशुल भुक्तानी गर्न पाउने भएको संस्थाका सचिव मेघराज बाँस्तोलाले बताएका छन् । आफ्नै मोवाइल वालेटमार्फत् बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपबाट अनलाइनमार्फत् बिल भुक्तानीको सेवा सुरु गरेपछि अब खानेपानीका उपभोक्ताले महशुल बुझाउन पैसा बोकेर कार्यालय पुगिरहनुपर्ने झन्झटको अन्त्य भएको सचिव बाँस्तोलाको भनाइ छ । उनका अनुसार फोन पे नेटवर्क, कनेक्ट आइपीएस, खल्ती, इसेवा, क्युआर कोड पेमेन्ट र वालेट इन्टिग्रेसन जस्ता मोवाइल एप्सहरुबाट महशुल भुक्तानीको व्यवस्था मिलाइएको हो । कुनै पनि एप्सभित्र मर्चेन्ट सेवामा गएर बिर्तामोड साना शहरी खानेपानी खोज्ने र आफ्नो ग्राहक नम्बर इन्ट्री गरेपछि आफ्नो वक्यौता बिल देखिने व्यवस्था मिलाइएको छ ।

आजबाट महशुल बुझाउँदा अधिकांश ग्राहकले जरिवानासहितको महशुल नै इन्ट्री हुने जानकारी गराउँदै सचिव बाँस्तोलाले देशभरका खानेपानी आयोजनाहरुले महासंघसमेतको निर्णयपछि उक्त जरिवाना रकम आगामी बिलमा समायोजन गर्ने बताएका छन् । समयमा नै महशुल भुक्तानी गर्दा ग्राहकले पाउने रिवेटको सुविधा निर्वाधरुपमा पाउने सचिव बाँस्तोलाको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्