बिर्तामोड नगरपालिकाका नगर प्रमुख ध्रुवकुमार शिवाकोटीज्यू नमस्कार !

कोरोना संक्रमण त्रासको यो बेला लकडाउनमा नै बसेर तपाईं पनि सुरक्षित रहनु भएको छ र नागरिकको सुरक्षामा अहोरात्र खटिरहनु भएको छ भन्ने विश्वाससहित सुस्वास्थ्यको कामना गर्दछु । तपाईं र मेरो बसाईंको दुरीको हिसाबले टाढा छैन । तर , भौतिक दुरी कायम गर्नै पर्ने यो बाध्यकारी अवस्थामा यो पत्रमार्फत तपाईको ध्यानाकर्षण गराउन चाहन्छु । मेयरज्यू अलपत्र परेकालाई घर,गाउँ , वडासम्म पुर्याउन बाटो त खोल्नु भयो, यो राम्रो कुरा हो । तर व्यबस्थापन हुन सकेन । वैशाख १३ गते तीनवटा बसमा अलपत्र यात्रुहरु बिर्तामोड आए । तर ती अलपत्र परेका यात्रुलाई ( १००—१५०) जनालाई खाना खुवाउने ठाउँ चाहिँ हस्पिटलको क्यान्टिन हो ? हो, भोकालाई खान दिनु राम्रो हो तर व्यबस्थापन चाहिँ यही हो ? हस्पिटलमा कति बिरामीको खाना उक्त क्यानटिनबाट जान्छ । यो के गरेको भनेर बुझ्दा बिर्तामोड प्रहरीले उक्त क्यान्टिनमा खाना खुवाउने अडर छ खाना खुवाउन सक्नु हुन्छ भनेर भनेको रहेछ ।
विएण्सी हस्पिटल प्रशासनलाई उक्त कुरा थाहा छ छैन त्यो त भन्न सकिएन। त्यहाँ प्रहरी प्रशासनको उपस्थिति हुनु पर्ने हो तर देखिएन । र ,भौतिक दुरी कायम गरेको पनि देखिएन । भोकको सुरमा यात्रुहरुले खानाका अघिल्तिर बिर्से होला ! १—२ दिन भोक या ४—५ दिनसम्म खान नपाएर भोक लागेपछि कसको दिमागले काम गर्ला र ! तर प्रशासनले उनीहरुलाई त्यो सम्झाउनु पथ्र्याे । प्रशासनले खाना खुवाउने व्यबस्था मिलाई दियो उसको दात्विय पुरा भयो ? ती मध्ये १जना मात्रै कोराना संक्रमित रहेछ भने भोलिको परिस्थिति के हुन्छ ? त्यसमा ध्यान गएको देखिएन । बाटोमा हिड्नेलाई १—२ घण्टा उभिएर कोरोनाको बारेमा ज्ञान दिने प्रहरीको यस्तो व्यबहार ? ए हजुर ! लकडाउन भनेको यही हो ? धर्म गर्दा कोराना भाग्छ भन्ने भ्रम छ भने पुजापाठ गरौँ , हवन लगाऔँ । होइन भने व्यवस्थापनमा ध्यान दिउँ । विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र आफ्नै निर्देशन र निर्णयको कार्यान्वयन गरौँ । अलपत्र परेकालाई सहयोग गरौँ । तर, सहयोग गरेकै भरमा कसैलाई संक्रमित नबनाउँ । यसमा नगरपालिकाको ध्यान जाओस् । नगरपालिकाका प्रत्येक कर्मचारीलाई लकडाउन कार्यान्वयन गराउनेतिर सुरक्षित लगाऔं , पहल गरौँ । कोरोनाले मेयर, प्रहरी सानो ठूलो भन्दैन । विशेषगरी संवेदनशील ठाउँहरुको पहिचान गरी त्यस्ता ठाउँहरुमा यस्तो कार्य नगर्न भनौं । दबाब सिर्जना गरी यस्तो कार्य गर्न रोक लगाऔँ । यो कुरा म हाम्रो बिर्तामोड नगरपालिकाका मेयरज्यू समक्ष राख्न चाहन्छु । सबैले खबर गरौँ, सन्देश पुर्याऔँ। उही तपाईंको छिमेकी
पोषण ओली, बिर्तामोड — ५
शनिश्चरे रोड ( झापा )
मिति २०७७।०१। १३

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्