दमक,१४ बैशाख । झापाको दमकमा दुई दिनअघि एक जनामा कोरोना संक्रमण फेला परेपछि त्यसबाट थप ब्यक्तिहरुमा सरेको हुन सक्ने भएकाले आजबाट परीक्षण शुरु गरिएको छ ।

संक्रमित व्यक्तिसँग प्रत्यक्ष सम्पर्कमा आएका पहिलो घेरामा रहेका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङको आधार बनाएर परीक्षण शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
दमक अस्पतालका प्रमुख डाक्टर खड्कलाल लिम्बूको संयोजकत्वमा ४ वटा छुट्टाछुटै स्वास्थ्यकर्मी, जनस्वास्थकर्मी र प्रयोगशालाकर्मीहरुको टोली विहानैदेखि संक्रमण क्षेत्रमा परिचालन भईरहेको नगर प्रमुख रोमनाथ ओलीले बताए । यसअघि शनिवार नगरपालिकामा स्वाबको नमुना संकलन तथा आरडिटी परीक्षण लगायतको बिषयमा स्वास्थ्यकर्मीलाई प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालय झापाको सहकार्यमा अभिमुखिकरण समेत प्रदान गरिएको थियो ।
नगर प्रमुख ओलीका अनुसार कोरोना संक्रमण क्षेत्रमा आज विहानैदेखि संक्रमितको सम्पर्कमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आएकाहरुको पहिचान गर्दै उनीहरुमा कोरोना भए,नभएको करिव ७२ जनाको जाँच गर्न थालिएको छ ।
आजदेखि कोरोना संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिलो चरणमा आरडीटीसहित स्वाब परीक्षण शुरु गरिएको उनले बताए ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कार्यक्रम दमक नगर समन्वय समितिले दमकमा कोरोना संक्रमण भेटिएलगत्तै संक्रमित भएको स्थानमा संक्रमण फैलिएको हुन सक्ने भएकाले त्यस क्षेत्रका केही स्थानमा आवतजावतमा कडाई गरी सिल गरिएको जनाएको छ ।
नगरपालिकाले यसअघि नै कोरोना संक्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाउदै परीक्षण तीव्र बनाउने निर्णय गरेको थियो ।
कोरोना भाइरस संक्रमण फैलिन नदिन नगरपालिकाले दमकको उत्तरमा मावा पुलदेखि बेलडाँगी १ सम्म ,दक्षिणमा कृष्ण मन्दिर राजमार्ग उतर, उतर पूर्वमा हिमावि स्कुलदेखि बेलडाँगी १ सम्म र पश्चिममा मावा खोलासम्मका क्षेत्रमा कसैलाई पनि आवतजावतलगायत कुनै पनि गतिबिधि नगर्न,नगराउन निषेध गरेको छ । संक्रमण फैलिन नदिन सबैलाई घरमै बसिदिन समेत नगरपालिकाले अनुरोध गर्दै आएको छ ।
हाल दमक अस्पतालको आइसोलेशनमा १ पुरुष र २ महिला गरी तीन जना रहेका छन् भने अन्य ३ वटा क्वारेन्टाइनमा ४१ जना रहेका छन् । ती सवैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्