दमक,१४ बैशाख । सामाजिक सञ्जालमा जथाभावी शेयर गरेको भन्दै प्रहरीले दमकका पुराना होटल व्यवसायी रमेश मगरलाई नियन्त्रणमा लिएर छाडेको छ ।

दमक— ८ स्थित सृजना होटलका सञ्चालक मगरलाई सादा पोशाकमा आएका दुई जना प्रहरीले सोधपुछका लागि भन्दै दुई दिनअघि दिउँसो नियन्त्रणमा लिएको थियो । दिउँसो १ वजे समातिएका मगरलाई राति ८ वजेतिर दमक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाई, होटल व्यवसायी संघका अध्यक्ष राजन दंगाल,कांग्रेसका क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीसहितको रोहवरमा छाडिएको थियो ।
नियन्त्रणमा लिएका मगरलाई सोधपुछपछि अव उप्रान्त जथाभावी पोष्ट तथा शेयर नगर्ने सर्तमा छाडिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरिक्षक विजयराज पण्डितले बताए । उनका अनुसार मगरले राष्ट्रपति र प्रधानमन्त्री फोटो जोडेर आफ्नो फेसबुकमा शेयर गरेका थिए । त्यही शेयर गरेको विषयलाई लिएर मगरलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
तर, मगरले भने प्रहरीले आफूलाई अनावश्यक दुख मात्र दिने कार्य गरेको आरोप लगाए । सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको फोटो अहिलेको समय सान्दर्भिक भएकाले शेयर मात्र गरेको बताउँदै उनले भने, –‘लकडाउनको यस्तो परिस्थतिमा प्रहरीले घरमा बसेका आफू र परिवारलाई नै त्रसित बनाउने मात्र काम गरेको छ ’ सोधपुछका क्रममा उनलाई प्रहरीले पटकपटक दमकको राजाको बारेमा जथाभावी नगर्न सम्झाएको मगरले सुनाए । राजाको रुपमा यस क्षेत्रबाट निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले जोडेर अर्थ्याएकोमा आफू आश्चर्यचंकित भएको उनको भनाइ छ । मगरले भने, –‘प्रहरीको यस्तो शैलीवाट आफूलाई मानसिक यातना दिने मात्र काम गरेको छ ।’ प्रहरीले सोधपुछका क्रममा आफनो मोवाइल समेत दुई दिन हुँदा फिर्ता नदिएको समेत गुनासो राखे । आज आउनु ,भोलि आउनु भन्दै दुख मात्र दिदै आएको मगरको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्