झापा, १४ बैशाख । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस कोभिड–१९ पुष्टि भएको छ ।

वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए । यसअघि कोरोना संक्रमणको पुष्टि भएका छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको सहायक प्रजिअ बस्नेतले बताए । तीमध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायणी अस्पताल वीरगन्जमा ल्याएको छ । उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन् । अर्का वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि अस्पताल ल्याइएको छ । उनलाई शंकास्पद ठानी सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो । सहायक प्रजिअ बस्नेतका अनुसार कोरोना संक्रमित भारतीय जमातीसँग सम्पर्कमा रहेका वीरगन्ज महानगर वडा नम्बर १,२ र ३ का १४६ जना र पर्सा जिल्लाका विभिन्न क्वारेन्टाइनमा राखिएका ४१ गरी १८७ जनाको स्वाब संकलन परीक्षणका लागि काठमाडौं पठाइएको थियो । सोमध्ये आइतबार बिहानसम्म ८२ जनाको रिपोर्ट आएको छ । जसमध्ये दुई जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको हो ।

कोरोना संक्रमणपछि नारायणी अस्पतालमा उपचार गराइरहेको ३ भारतीय जमातीलाई भने डिस्चार्ज गर्ने तयारी अस्पतालले गरिरहेको छ । यससँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या ५१ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्