द्रोण अधिकारी ,
झापा, १४ वैशाख ।नेपाल भारत सीमा क्षेत्रमा आवतजावत बन्द गर्न खटिएका सुरक्षाकर्मी हावापानी र घामबाट आफैं असुरक्षित हुँदै गएका छन् ।

कोरोना संक्रमण रोक्न भारतीय भूमिबाट अवैध प्रवेश बन्द गर्न नेपाल भारत सिमानामा परिचालित नेपाली सुरक्षाकर्मी सामान्य त्रिपालभित्र बस्नु पर्ने अवस्थाले प्राकृतिक विपद्बाट असुरक्षित हुँदै गएका हुन् ।
हरेक ५ सय मिटरको दुरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भिन्नाभिन्नै सुरक्षा पोष्ट राखेर सीमा सिलको जिम्मेवारी दिइएको छ । नेपाल प्रहरी सुरक्षा सामग्री तथा जनशक्ति परिचालनको तुलनामा सशस्त्र प्रहरीभन्दा कमजोर देखिएको छ । नेपाल प्रहरीले हरेक टोकरीमा ३ जना सुरक्षाकर्मी परिचालन गरेको छ । एउटा सामान्य त्रिपालमा दिनरात बिताइरहेका ती सुरक्षाकर्मी दिउँसो घामको तापमा रापिन बाध्य छन् भने रातमा आउने हुण्डरीसहितको पानी सहन विवश छन् ।
हुन त, सशस्त्र प्रहरीको पीडा पनि कम छैन । चाइनिज टेन्ट टाँगेर सिमाना सिलमा खटिएका सीमा सुरक्षा वलका जवानहरू हावापानीमा टेन्ट समाएर रात बिताउन बाध्य छन् । नेपाल प्रहरीको तुलनामा अलि व्यवस्थित देखिएको सशस्त्र प्रहरी वलको पोष्टमा ६ जनासम्म परिचालित छन् । सामान्य असिना पानीमै प्वाल परेको टेन्टमा रात बिताएर सिमाना सिलको भूमिका निर्वाह गरिरहेका छन् ।

यता नेपाल भारत सिमानामा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएपछि सीमा मिचिने र चोरी तस्करीको समस्या निराकरण भएको भन्दै स्थानीय खुसी देखिएका छन् । स्थानीय भन्छन्—‘भारतीयको सिमाना थिचोमिचो रोक्ने अति बलियो उपाय अहिलेका सुरक्षा पोस्ट निरन्तर रहनु पर्दछ । चोरी तस्करी पनि रोकिने अनि सीमा अतिक्रमण पनि बन्द हुने यस अवसरलाई सरकारले निरन्तरता दिन जरूरी छ ।’
बन्दाबन्दी पालना गराउन सरकारले नेपाल भारत सिमानामा झापा जिल्लाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको गरी १५९ अस्थायी पोष्ट खडा गरेको छ । जसमा सशस्त्र प्रहरीको १२८ र नेपाल प्रहरीको ३१ वटा अस्थायी पोष्टमार्फत सीमा सिलको जिम्मेवारी निर्वाह गरिरहेका छन् ।
झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार भारतसँग जोडिएको सीमा क्षेत्र झापा जिल्लामा १४४.२ किलो मिटर रहेको छ । जसमा सीमा सुरक्षा वलका स्थायी रूपमा रहेका ८ वटा सीमा सुरक्षापोष्टमा कार्यरत प्रहरी निरीक्षकसहित १६ जना प्रहरी निरीक्षकले नेतृत्व गरेर सीमा बन्दका लागि काम गरिरहेका छन् । सीमा क्षेत्रमा एक हजार १९३ जना सुरक्षाकर्मी परिचालित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्