भद्रपुर,१४ बैशाख । लकडाउनका कारण बजारमा तरकारीको अभाव देखिन थालेपछि झापा उद्योग वाणिज्य संघले तरकारी उत्पादनलाई प्रोत्साहित गर्न निःशुल्क रुपमा तरकारीको बीऊ बिजन वितरण गरेको छ ।

भारतमा उत्पादित तरकारीमा निर्भर भद्रपुरलगायतका बजारमा तरकारी आयात रोकिएपछि अभाव देखिएको हो भने मूल्य पनि आकाशिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण घरमै बस्नुपर्ने भएपछि फुर्सदमा रहेका परिवारका सदस्यलाई खेतबारीको काम गर्न प्रेरित गर्ने उद्देश्यले पनि तरकारीको बीऊ वितरण गरिएको संघका अध्यक्ष नवराज पनेरुले जानकारी दिए । आजदेखि बीऊ वितरण थालिएको छ ।

राष्ट्रिय उत्पादन तथा स्वाभिमान कार्यक्रमअन्तर्गत एकलाख रुपैयाँभन्दा बढीको विभिन्न आठ किसिमका तरकारीको बीऊ वितरण गर्न शुरु गरिएको संघका महासचिव पंकज शर्माले जानकारी दिए । भिण्डी, फर्सी, लौका, घिरौंला, बोडी, करेला, काँक्रा र लट्टेको बीऊ समावेश गरी प्याकेट बनाई वितरण गरिएको हो ।
संघको कार्यालय परिसरमा आइतबार अध्यक्ष पनेरु, विशिष्ट सदस्य अजय साहेवाला, पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरेले संयुक्तरुपमा बीऊबिजनको प्याकेट वितरण गरेर कार्यक्रमको शुभारम्भ गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्