बिर्तामोड । झापा बाह्रदशीका कोरोना संक्रमितलाई विराटनगर पठाउन एम्बुलेन्स पाइएको छैन ।

कोरोना संक्रमित मुस्लिम समुदायका ५० वर्षिय ती ब्यक्तिलाई कोशी अस्पताल विराटनगर पठाउन विभिन्न एम्बुलेन्सलाई फोन गर्दा आउन नमानेको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले बताए ।‘एम्बुलेन्स खोजिरहेका छौं’उनले भने,‘ भेटिएको छैन ।’ ती ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको ३ घण्टाभन्दा बढी समय भइसक्यो । तर, अहिलेसम्म उनलाई घरबाट अस्पताल लान सकिएको छैन । कोरोना संक्रमितलाई तत्काल उपचारका लागि लान नसक्दा स्थानीय त्रसित भएका छन् । संक्रमित रहेको बाह्रदशी— ४ चकचकी बजारलाई सिल गर्ने विषयमा छलफल भइरहेको अध्यक्ष राजवंशीले बताए । ‘प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर भोलिदेखि त्यस क्षेत्रलाई सिल गर्छौ ’ उनले भने ।

कोरोना संक्रमितको बसोबास गाउँपालिका कार्यालयदेखि पूर्वपट्टि बस्तीमा रहेको छ । होम क्वारेन्टाइनमा बसिरहेका बाह्रदशी— ४ का ती पुरुषमा कोरोना संक्रमण फेला परेको हो । उनको दुई पटक आरडिटि परीक्षण गरिएको थियो । पहिलो परीक्षणमा नेगेटिभ देखिएपनि शंका लागेर हिजो अर्को परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसपछि उनको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । त्यसको पिसिआर रिपोर्ट पोजेटिभ आएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्ग राजवंशीले बताए । ती ब्यक्ति मुस्लिम धर्मगुरु जमाती भएको उनले जानकारी दिए । बाह्रदशी— ४ स्थित मस्जिदमा बस्दै आएका ती मुल्बी भारतको दिल्लीबाट फर्केको जनाइएको छ । यसअघि झापाको दमक ३ मा एक पुरुषमा कोरोना संक्रमण देखा परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्