झापा, बैशाख १५ । कोरोना संक्रमित बाह्रदशी— ४ का ब्यक्तिसँगको खुलेआम सम्पर्कले स्थानीय भयभित देखिएका छन् ।

हिजो कोरोना संक्रमण पुष्टि भएका बाह्रदशी गाउँपालिका ४ का ५० वर्षीय पुरुष करिव एक महिनाअघि भारतको नयाँ दिल्ली पुगेर फर्किएका थिए । त्यहाँबाट आएर उनी खुलेआम घुम्ने गरेका थिए । शंका लागेर उनलाई होम क्वारेन्टाइनमा राखिएपनि धेरैजनासँग हेलमेल गरेको पाइएको छ । ‘दिल्लीबाट फर्केर ती ब्यक्तिले कतिलाई भेटे भेटे , यकिन नै छैन’ गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले भने,‘उनी गाउँको बिहेबटुलोमा पनि गएका थिए ।’ गाउँपालिका कार्यालयको नजिकै रहेको मदरसामा उनले पढाउने गरेका छन् । ती मुस्लिम धर्मगुरु( मुल्बी )को सम्पर्कमा जनप्रतिनिधि र कर्मचारीहरु पनि आएको अध्यक्ष राजवंशीले बताए । ‘धेरैजना सम्पर्कमा आएकाले स्थिति भयावह छ’उनले भने, ‘हामी सम्पर्कमा रहने सबैको खोजी गरिरहेका छौँ ।’ स्थानीय मदरसामा पढाउने ती धर्मगुरु बालबालिकाको सम्पर्कमा पनि गएको बताइएको छ । यद्यपि लकडाउनयता सो मदरसा बन्द रहेको छ ।

ती संक्रमित नयाँदिल्लीमा भएको मुस्लिम धर्मगुरुहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर घर फर्किएको बाह्रदशी–४ का वडाध्यक्ष समिम मियाँले जानकारी दिए । दिल्लीबाट फर्किएपछि उनी होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।
उनको दुई पटक आरडिटि परीक्षण गरिएको थियो । पहिलो परीक्षणमा नेगेटिभ देखिएपनि शंका लागेर शनिबार अर्को परीक्षण गर्दा पोजेटिभ आएको थियो । त्यसपछि उनको स्वाब परीक्षणका लागि विराटनगर पठाइएको थियो । त्यसको पिसिआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पुष्टि गरे । शनिबार पनि स्वाब दिन गाउँपालिका कार्यालयसम्म उनी आफैं आएका थिए । संक्रमित पुरुषको घर आसपास करिब एक सयभन्दा बढी मुस्लिम परिवारको बसोबास छ ।वडाध्यक्ष मियाँका अनुसार बाह्रदशी–४ मा मुस्लिम समुदायका मात्र ७ सयभन्दा बढी परिवार बस्छन् । संक्रमित पुरुषको परिवारका सदस्य र आसपासका स्थानीयको स्वास्थ्य परीक्षणको काम भोलि गर्ने जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिए ।संक्रमितलाइृ कोशी अंचल अस्पताल विराटनगर लैजान हिजो एम्बुलेन्सले मानेको थिएन । पुष्टि भएको धेरै समयपछि मात्र उनलाई विराटनगर पठाइएको गाउँपालिका अध्यक्ष राजवंशीले बताए । संक्रमित ब्यक्ति पनि विराटनगर जान नमानेको बताइएको छ ।
संक्रमित क्षेत्र सिल गरिदै
धेरै जनघनत्व भएको क्षेत्रमा कोरोना संक्रमण फैलिएको हो । जहाँ बाक्लो बस्ती र गाउँपालिका कार्यालय रहेको छ । आज बिहान ८ बजे आपतकालीन बैठक बसेर संक्रमित क्षेत्र सिल गर्न लागिएको गाउँपालिका अध्यक्ष राजवंशीले जानकारी दिए ।बाह्रदशीमा संक्रमण देखिएसँगै झापामा कोरोना संक्रमितको संख्या २ पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्