मनिषा चम्लागाईँ । झापा । कोरोना भाइरसको जोखिम बढेसँगै यसबाट बच्न नेपालभर हजारौँको संख्यामा क्वारेन्टाइन बनाइएका छन् । यही समयमा झापाको मेचीनगर नगरपालिकाले लागुऔषधका प्रयोगकर्तालाई लक्षित गरेर क्वारेन्टाइन बनाएको छ । क्वारेन्टाइनमा १४ दिनसम्म राखिने छ । पूर्वी नाका काँकडभिट्टा आसपासहुँदै सीमा काटेर भारततिर लागुऔषध लिन जानेको संख्या बढेसँगै क्वारेन्टाइन निर्माण गरिएको हो । क्वारेन्टाइनमा राखिएकालाई सुधारगृहकै विधि प्रयोग गरी कुलतबाट छुटकारा दिलाउनुपर्ने भएको हुँदा नगर भित्रका ३ वटा सुधार केन्द्रका ३ जना विज्ञले पालो मिलाएर क्वारेन्टाइनमा मनोपरामर्शका दिदैँ आएका छन् ।
गत १० गतेदेखि सञ्चालनमा आएको क्वारेन्टाइनमा ३८ जना लागुऔषध प्रयोगकतालाई रहेको क्वारेन्टाइनका प्रशिक्षक अर्जुन राईले बताए । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेसँगै लागुऔषध निर्भरकर्ता छटपटाएर सिमा क्षेत्रमा पुग्ने गरेकाले नगरपालिकाको आर्थिक सहयोगमा क्वारेन्टाइन स्थापना गरिएको हो । लागुऔषध प्रयोगकर्ताले कुनै पनि कुराको प्रवाह नगरी लकडाउनको उल्लङ्घन गर्दै सडकमा निस्कन थालेपछि क्वारेन्टाइनमा राख्न शुरु गरिएको राई बताउँछन् । “यो समयमा लागुऔषधको अभावमा भौतारिँदै हिँड्नेहरुबाट समाजिक अपराध मात्र बढ्ने नभएर कोरोना भाइस संक्रमणको जोखिमसमेत बढेकाले क्वारेन्टाइनमा राख्न थालिएको हो” राईले भने, “जसले गर्दा कोरोनाको जोखिम न्यूनिकरणमा सहयोग गर्ने छ ।” उनीहरुलाई लागुऔषधको कुलतबाट छुटकारा दिलाउन उपचारको विधिसमेत प्रयोग गर्दै आएको राई बताउँछन् ।
क्वारेन्टाइनमा राखिएकालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले सुरक्षाको व्यवस्था गरेको छ । बन्दाबन्दीले लागुऔषध प्रयोगकर्ताले सहज रुपमा लागुऔषध पाउन छाडेसँगै कुलतमा फसेका अधिकांश युवा प्रहरीको आँखा छल्दै काँकडभिट्टा हुँदै भारत तिर पस्ने गरेकाले क्वारेन्टाइनमा राखिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताए । “सिमा क्षेत्रमा भेटिएका लागुऔषध प्रयोगकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्दै आएका छौँ” प्रमुख पोखरेलले भने, “क्वारेन्टाइनमा रहेका लागुऔषध प्रयोगकर्तालाई व्यस्त राख्नका लागि प्रशिक्षण बाहेकको समयमा साबुन र सेनिटाइजर बनाउने काममा लगाउने योजना बनाउँदै छौँ ।” उनीहरुलाई कृषि उत्पादनको क्षेत्रमासमेत काममा लगाउनका लागि पहल थालिएको पोखरेल बताउँछन् ।
खुल्ला सिमा भएकाले पूर्वी नाका हुँदै भारत तर्फ जानेको संख्या बढेकाले स्थानीयसमेत त्रसित हुने गरेका थिए । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने र सुधार भएकालाई अभिभावकको जिम्मा लगाएर घर पठाइने पोखरेलले बताए । सो–पश्चात अवस्था हेरी अभिभावक र सहयोगी संस्थासँगको समन्वयमा वैधानिक सुधारगृहमा पठाउनका लागि पहल गरिने जनाइएको छ । क्वारेन्टाइनमा ५० जनासम्म राख्न सकिने पोखरेलले बताए ।
नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएका लागुऔषध प्रयोगकर्ता झापासँगै काठमाडौँ, मोरङ, सुनसरी लगायत जिल्लाका रहेका छन् । उनीहरुलाई मेचीनगर–८ स्थित इँटाभट्टामा रहेको आदर्श माध्यमिक विद्यालयलाई निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई गत बुधबारदेखि उपचार गर्न थालिएको मेचीनगर नगरपालिकाले जनाएको छ । नगरपालिका र प्रहरीको यो पहललाई स्थानीय सरकारले सहयोग पु¥याएको स्थानीय पदम निरौला बताउँछन् । प्रयोगकर्ताले बन्दाबन्दी उल्लङ्घन गरेको खबर प्राप्त हुनासाथ प्रहरीले स्थानीय जनप्रतिनिधिसँग मिलेर उनीहरुको खोजतलास गरी क्वारेन्टाइनमा ल्याउने व्यवस्था मिलाइएको निरौलाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्