बैगुनधुरा । झापा गौरादह नगरपालिका –९ बैगुनधुरामा जनप्रतिनिधिले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । विगतमा बैंक मार्फत भुक्तानी गरिँदै आएको भत्ता यसपटक घरघरमा पुगेर वितरण गरिएको गौरादह–९का वडासदस्य कृष्ण गौतमले बताए । वडासदस्य गौतमका अनुसार सोमबारसम्मम सो वडाका ११५ जनालाई १२ लाखभन्दा बढी रकम वितरण गरिसकिएको छ ।
वडामा टोल विभाजन गरेर अपांगता भएका, जेष्ठ नागरिक र एकल महिलालाई उक्त रकम वितरण गरिएको हो । आफ्नो जिम्मेवारीमा परेको साविक बैगुनधुरा –८ र ९ मा सामाजिक सुरक्षा भत्ता वितरण गरिसकिएको छ । हालको टोल नम्बर ८ र ९ मा रहेका व्यक्तिलाई आफैं खटेर भत्ता वितरण गरेको उनले जानकारी दिए । “कोरोना संक्रमणको त्रासको यो बेला भत्ता मात्रै वितरण गर्दा पनि नागरिकलाई ठूलो राहत पुग्छ” उनले भने,“खानेलाउन सहयोग पुग्छ नै, उपचारमा पनि यो रकमले ठूलो काम गर्छ ।” उनले नियमित औषधी सेवन गर्ने र विपन्न परिवारका लागि त दैनिक गुजारा नै चल्ने निष्कर्षका साथ घरघरमै पुगेर हातहातमा भत्ता दिएको उनले बताए ।
वडाका सबैलाई सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको उनले जानकारी दिए । वितरण गरिएको भत्ता चैत महिनाको हो । जारी लामो लकडाउनमा नागरिक बाहिर जाने अवस्था नभएपछि नयाँ योजना बनाएर भत्ता वितरण गरिएको र अवस्था सहज भएपछि भत्ता बैंकबाट नै भुक्तानी हुने वडासदस्य गौतमले जनाए ।
उनले पहिलो चरणको राहत वितरण गरिसकिएको र दोस्रो चरण राहत दुई र तीन दिन भित्र वितरण गर्ने तयारी भएको उनले जनाए । दोस्रो चरणको राहत वितरणका लागि टोल विकास समिति मार्फत राहत वितरण गर्नेको तथ्यांक लिने काम भैसकेको उनले जानकारी दिए । वडासदस्य गौतमले लकडाउनकै बेला साना किसान सहकारीसँग समन्वय गरेर केही किसानलाई रासायनिक मल उपलब्ध गराइएको जानकारी दिए । यद्यपि, त्यो मल पर्याप्त भने नभएको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्