दमक,१७ बैशाख । कोभिड–१९ को संक्रमण हुन नदिन गरिएको बन्दाबन्दीका कारण गएको एक महिनाको अवधिमा झापामा करिव रु २ करोड बराबरको च्याउ नोक्सानी भएको च्याउ उत्पादक किसान संघले जनाएको छ ।

जारी बन्दाबन्दीका कारण जिल्लाभित्र व्यावसायिक रुपमा सञ्चालन गर्दै आएका च्याउ उद्योगका किसानले वजारसम्म आफ्ना उत्पादन पुर्याउन नसक्दा करिव रु २ करोड बराबरको नोक्सानी व्यहोर्नु परेको संघका जिल्ला संयोजक ज्ञानेन्द्रप्रसाद गौतमले बताए । जिल्लाको माइपूर्व र माइपश्चिम क्षेत्रमा एक सयबढी किसानले व्यावसायिक रुपमा च्याउ खेती गर्दै आएका छन् ।
संघले माइपूर्व र माइपश्चिम क्षेत्रका किसानहरुमा गरिएको प्रारम्भिक अनुगमनपछि सो क्षतिको अनुमानित विवरण सार्वजनिक गर्नुका साथै विवरण संघको केन्द्रीय कार्यालयमा समेत पठाईएको उनले बताए । संघका अनुसार माइपश्चिमका गौरादह ९ स्थित नमुना च्याउ उद्योगको करिव रु ५ लाख,सिता च्याउ उद्योगको रु ६ लाख,कुशल च्याउ उद्योगको रु ५ लाख,ढुंगाना च्याउ उद्योगको रु १० लाख र कल्याण तथा कृतिसा च्याउ उद्योगको रु ५—५ लाख बराबरको च्याउ घाटा व्यहोर्नुपरेको संघको विवरणमा उल्लेख छ । यस्तै कमल गाउँपालिकाका विभिन्न च्याउ किसानका करिव रु ३० लाख, शिवसताक्षीका किसानको करिव रु ३० लाख र दमक नगरपालिकाका च्याउ किसानका करिव रु ४० लाखको च्याउ नोक्सान भएको उनले बताए ।

यहाँका किसानले उत्पादन गरेका च्याउ बन्दाबन्दीले गर्दा जिल्ला बाहिरका ठूला वजारसम्म पुर्याउन सकेका छैनन् । हाटवजार ,पसल तथा यायातातका सवारीसाधन वन्द हुँदा दैनिक उत्पादन हुने ठूलो परिमाणको च्याउमा घाटा व्यहोर्नु परेको संयोजक गौतम बताउँछन् । बन्दाबन्दी लम्बिदै गएपछि उद्योग धरासायी बन्ने अवस्थामा पुगेको किसानहरुको गुनासो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्