बिर्तामोड, बैशाख १६ । कोरोना भाइरसको महामारीका बेला सांसदहरुको भूमिका नदेखिएको जनगुनासो सुन्ने गरिन्छ । एकाधबाहेक प्रायः सबै सांसद यतिखेर ‘गुमनाम’ जस्तै भएका छन् । चाहे संघीय सांसद हुन् वा प्रदेश सांसद ।

सांसदहरु कता हराए भन्दै सामाजिक सञ्जालमा जनताले आफ्ना सांसदको नामै तोकेर खोजी गर्ने गरेका छन् । जनताबाट निर्वाचित सांसदहरुले आखिर के गरिरहेका छन् त ? भन्ने प्रश्नमा झापा क्षेत्र नं २ (१) का प्रदेश सभा सदस्य एकराज कार्की आफू नहराएको बताउँछन् । आफूहरुको कार्यकारी पद नभएकाले कोरोनाको संकटकालमा अग्रपंक्तिमा बसेर काम गर्न नसकिरहेको उनी स्वीकार गर्छन् । यद्यपि यो संवेदनशील घडीमा चुप लागेर आफू चाहिँ घरमा नबसेको बताउँदै उनले विश्वप्यापी कोरोना भाइरस महामारीको रोकथाममा क्रियाशील नै रहेको दावी गरे ।

कोरोनाको यो विश्वव्यापी महामारीमा सर्वसाधारण जनता संक्रमणको जोखिमदेखि लिएर लामो लकडाउनका कारण खाद्यान्नको समस्याबाट प्रभावित छन् । आफ्नो अमूल्य मतले जिताएर पठाएका आमजनताले यस्तो बेला नै आफ्ना जनप्रतिनिधि खोजेका हुन्छन् । ‘स्थानीय तहले गरिरहेको कोरोना भाइरस रोकथाम तथा राहत वितरणको काममा प्रत्यक्ष सहयोग गरिरहेको छु ’सांसद कार्कीले भने,‘ त्योसँगै लकडाउनमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउन लगाएको छु ।’ आफ्नो कार्यक्षेत्रभित्र पर्ने स्थानीय तहहरुमा गएर जारी लकडाउनका कारण भोकमरीको समस्यामा परेका अतिविपन्न परिवारका लागि भइरहेको राहत संकलन र वितरण कार्यको अनुगमन गर्ने गरिएको साविक गरामनी गाविसका अध्यक्षसमेत रहेका कार्कीले बताए ।केही दिनअघि बिर्तामोड नगरपालिकामा फोहोरमैला व्यवस्थापनमा देखिएको समस्या आफ्नै अग्रसरतामा समाधान भएको उनको भनाइ छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्थानीय तहहरुले एक्लाएक्लै गरिरहेको प्रयासले संक्रमण र संक्रमित ब्यक्तिलाई छेक्न नसकिने भन्दै सांसद कार्कीले त्यसका लागि सामुहिक प्रयास आबश्यक भएको जोड दिएका छन् । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले राहत कोषमा एक महिनाको तलब भत्ता दिएर सहयोग गरेका छन् । संघीय, राष्ट्रियसभा र प्रदेशका सांसदहरुले पनि कम्तीमा एक महिनाको तलब भत्ता राहत कोषमा बुझाउनु पर्ने माग उठिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्