बिर्तामोड ,बैशाख १७ । बाह्रदशी गाउँपालिकाका कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको पीसीआर रिपोर्ट आज आउने भएको छ ।

कोरोना संक्रमण पुष्टि भएका बाह्रदशी— ४ का ५० वर्षीय पुरुषको सम्पर्कमा आएका ६२ जनाको स्वाब नमुना संकलन गरी हिजो पीसीआरका लागि विराटनगरस्थित कोसी कोभिड अस्पतालमा पठाइएको थियो । जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाका स्वास्थ्यकर्मीको टोलीले हिजो उनीहरुको स्वाब नमुना संकलन गरेको थियो । हिजो नमूना संकलन गरी पठाइएको स्वाबको पीसीआर रिपोर्ट आज साँझसम्म आइपुग्ने गाउँपालिका अध्यक्ष खड्ग राजवंशीले बताए । उनले भने,‘ हेरौ अब रिपोर्टले के बताउँछ ।’

कोरोना संक्रमण पुष्टि भएका पुरुषको परिवार, आफन्त र छिमेकीहरुको स्वाब नमुना संकलन गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम साहले जानकारी दिए । भारत दिल्लीको मुजाहिद्यिनमा सम्पन्न तब्लिगी जमातमा सहभागी भएर फागुन २८ गते घर फर्किएका मुस्लिम धर्मगुरु(मुल्बी) मा कोरोना संक्रमण पुष्टि भएको हो । उनको कोसी कोभिड अस्पताल विराटनगरमा उपचार भइरहेको छ । संक्रमण पुष्टि भएलगत्तै गाउँपालिकाले पूर्वमा कञ्चनगढ सडक, पश्चिममा विरिङ नदी, उत्तरमा साविक चकचकी गाविसको सिमाना र दक्षिणमा राधानगर र घाग्रा पुलसम्मको क्षेत्रलाई सिल गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्