झापा, वैशाख १८ । लकडाउनको समय लम्बिएसँगै दैनन्दिन जनजीवन कष्टकर बन्दै गएको छ । दैनिक ज्यालादारी गर्ने र अतिविपन्न परिवारको खाना खान नै बन्द हुने अवस्था सिर्जना भएको छ । हिडडुल कठिन हुँदै गएको छ । आवश्यक स्वास्थ्य सावधानी अपनाउनु , भौतिक दुरी कायम गर्नु, भीडभाड नगर्नुको सट्टा सडकमा बार लगाएर बसेको छ्याप्छ्याप्ती भेटिन्छ,देखिन्छ ।

यो बेला कोरोना रोक्ने बहानामा सडकमा बार लगाएर बस्नु भनेको अल्पसोच भएको बिर्तामोडका युवा गोपाल मिश्रको भनाइ छ । ‘बाटोमा बार लगाएर कोरोना रोकिने भए स्वास्थ्य सतर्कता किन अपनाउनु पथ्र्याे ’उनले भने,‘ बाटो छेकेर बस्नु भनेको आपदविपदको यो बेला आवागमनमा व्यवधान गर्नु र बाधक बन्नु मात्रै हो ।’
उनले बिर्तामोडको अन्नपूर्णचोक पश्चिम र त्यहीँबाट दक्षिण जाने सडकमा बार लगाएर स्थानीयले रुँगेर बस्ने गरेको बताए । उनीहरुलाई सोध्दा वडाध्यक्षसँग सोधेर बार लगाएको जवाफ दिने गरेको मिश्रको भनाइ छ । बिर्तामोड —४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले बाटो रोक्ने कुरामा वडाध्यक्षले सल्लाह दिएको भन्नु बदनाम गर्ने षड्यन्त्र भएको बताए । उनले आफूले सुन्ने बित्तिकै त्यो बार हटाउन प्रहरीलाई आग्रह गरेको र हटाइएको यदि नहटाएको भए तल्काल हटाइने बताए । बाटोमा बार लगाएर बस्ने र वडाध्यक्षलाई देखाउनेलाई कारबाही गर्नु पर्ने उनको तर्क छ ।

लकडाउनको सुरुवाती दिनमा बिर्तामोडलगायत झापाका सहरी क्षेत्रका सडक, ग्रामीण क्षेत्रका चोक बजार र बस्तीबस्तीमा बार लगाइएपछि स्थानीय सरकार, प्रहरी र प्रशासनको सक्रियतामा ती बार हटाइएको थियो । झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले प्रहरी परिचालन गरेर सडकका बार हटाइएको र कहिँकतै भए हटाइने लकडाउनको सुरुवाती दिनदेखि नै बताउँदै आएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक प्रकाश जवेगुले सामाजिक हितको प्रतिकुल हुने त्यस्तो गल्ती बिल्कुल गर्न नहुने बताएका छन् ।
दमकका बुद्धिराज न्यौपानेले मनिङवाकमा निस्कदा एक स्थानीयले बाटोमा समेत नहिड्न भन्दा आफूले त्यसको प्रतिवाद गरेपछि ती व्यक्ति चुपचाप घरभित्र छिरेको बताए । अहिले त्यो ठाउँमा त्यस्तो अवस्था नरहेको बताइन्छ । प्रहरी, स्थानीय सरकार र प्रशासनले जे भनेपनि झापाका सहरी र ग्रामीण सडक, चोक बजारमा त्यस्ता बार अझै पनि धेरै ठाउँमा छन् । यसले अत्यावश्यक सेवा र आवागमनमा अप्ठ्यारो सिर्जना गरेको छ । सडकमा बार लगाएर होइन,विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको निर्देशनात्मक स्वास्थ्य सन्देश पालना गरे मात्रै कोरोना संक्रमणबाट जोगिन सकिने कुरा सबैले बुझ्न जरुरी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्