राजगढ, बैशाख १८ । गत चैत ११ गतेदेखि जारी लकडाउनले समस्या पारिरहेकै थियो । त्यसमा चार दिन अघिदेखि एरिया सिल भएपछि संक्रमित क्षेत्र बाह्रदशी— ४ का विपन्न परिवारलाई जीवनयापनमा थप कठिनाइ भएको छ ।

बाह्रदशी— ४ का ४९ वर्षिय एक पुरुषमा आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै सोमबारदेखि छिमेकी ३ र ५ का केही भूभागसहित सिंगो ४ नं वडा सिल गरिएको हो । संक्रमित क्षेत्र वडा नं ४ का बासिन्दा अधिकांश ज्याला मजदुरी गर्ने विपन्न छन् । वडाका १ हजार ३८ घरधुरीमध्ये ७५० परिवार मुस्लिम छन् । त्यहाँ मुस्लिम समुदायको बढी बसोबास छ । आवतजावत पूर्णरुपमा निषेध गरिएपछि दुई छाक टार्ने समस्यासँगै रमजान पर्व मान्न गाह्रो भइरहेको वडाध्यक्ष समिम मियाँले बताए । उनले सिल गरिएको संक्रमित क्षेत्रमा खाद्यान्न बिक्रीका लागि एउटा केरियरको व्यवस्था मिलाइएको जानकारी दिए । त्यस्तै गाउँपालिकाको सिफारिसमा चारजना ब्यक्तिलाई तरकारी बेच्न अनुमति दिइएको छ । मुस्लिम समुदायको महान पर्व रमजान गत शनिबारदेखि शुरु भएको हो ।‘अबको एक —दुई दिनमै राहत बाँड्ने तयारी पनि भइरहेको छ’ वडाध्यक्ष मियाँले भने,‘जीवनयापनमा कष्ट त छँदैछ, त्यसभन्दा ठूलो समस्या कोरोना संक्रमणको हो ।’

कोरोना संक्रमित ब्यक्तिको सम्पर्कमा आएका ६३ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि मंगलबार कोशी अस्पताल विराटनगर पठाइएको छ ।जसको रिपोर्ट आज आउन सक्ने वडाध्यक्ष मियाले बताए । हिजो गाउँपालिका कार्यालयले संक्रमित क्षेत्रका ५० परिवारलाई २—२ वटा साबुन, ४—४ वटा मास्क र एक—एक वटा सेनिटाइजर वितरण गरेको थियो । रमजान पर्वमा एकमहिने रोजाको ब्रत लिएका संक्रमित क्षेत्रका मुस्लिम समुदायका मानिसहरुलाई दुध वितरण गर्ने तयारी गरिएको प्रदेश सभा सदस्यका प्रत्यासी भगिरथ पोद्धारले बताए । उनले संक्रमित क्षेत्रलाई सिल गरिएपनि पर्याप्त सुरक्षा व्यवस्था नहुँदा आवतजावत पूर्णरुपमा निषेध गर्न नसकिएको जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्