राजेन्द्र गौतम , झापा वैशाख १८ । चारकिल्ला तोकेर झापा बाह्रदशी गाउँपालिकाको केही भाग सिल गरेको आज तीन दिन बितेको छ । झापामा कोरोना संक्रमित दोस्रो व्यक्ति भेटिएपछि बाह्रदशीको केही भूभागलाई सिल गरिएको हो । अन्यत्र संक्रमण फैलिन नदिन उक्त भूभागलाई निशेधित एरिया तोकिए पनि स्थानीय भने अहिले पनि त्रासमा नै छन् ।

बाह्रदशी — ४ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीयमा त्रास बढ्नु स्वाभाविक हो । तर, कोरोना संक्रमित ती व्यक्ति वैशाख १४ गते ( आइतबार ) बिहानसम्म खुलेआम हिडिरहेका थिए । भौतिक दुरी समेत कायम नगरी उनी गाउँघर हिडेकाले पनि स्थानीयमा त्रास कायमै रहेको चकचकीका स्थानीय कृष्णराज कटुवालले बताए । भने,“ भूगोल सिल गरेर नहुँदो रहेछ, त्रासलाई सिल गर्न सकिएको छैन ।“ संक्रमितको घरको अवस्थिति र आसपासमा झुरुप्प घर भएका कारण पनि संकमण अरुलाई सरेको हुन सक्ने भय छिमेकीहरुमा कायमै छ । स्थानीय पशुपति माविका शिक्षक गुणानिधि लुइँटेलले परीक्षणका लागि पठाइएको स्याम्पलको रिपोर्ट नआउञ्जेल त्रास नहट्ने बताए । भने,“ कसैको रिपोर्ट पोजेटिभ आयो भने स्थितिको आँकलन अहिले नै गर्नु हतारो हुन्छ । संक्रमित व्यक्तिलाई जिल्ला स्वास्थ्य कार्यालयको टोली र सुरक्षा निकायले घरमै पुगेर होम क्वारेन्टाइनमा बस्न भनेका थिए । उनले त्यसको खासै पालना नगरेकाले पनि त्रास बढ्नु स्वाभाविक भएको दुखेसो स्थानीयले गरेका छन् ।

कहाँ छ सिल
संक्रमण फैलन सक्ने क्षेत्र गाउँपालिकाको पूर्वमा साविक चकचकी गाविसको सिमाना कंचनमार्ग, पश्चिममा विरिङ खोला, उत्तरमा साविक चकचकीको सिमाना पाख्रिवास होटल र दक्षिणमा राधानगर र घाग्रा खोलासम्मको चार किल्ला भूभाग सिल छ । सिल गरिएको क्षेत्रले बाह्रदशीको तीनवटा वडा छोएको छ । वडा नं ४ को सम्पूर्ण भूभाग तथा छिमेकी वडा नं ३ र ५ को सामान्य भूभाग सिल गरिएको हो । निषेधित क्षेत्रको समन्वयका लागि ९ सदस्यीय समिति समेत गठन गरेको छ । समितिमा गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशी, उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वडा नम्वर ३, ४ र ५ नम्वर वडाका वडाध्यक्ष, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी सदस्य रहेका छन् ।
संक्रमित को हुन् ?
उनी मुस्लिम धर्मगुरु हुन् । स्थानीय दारुम उलुम मदरसाका प्रधानाध्यापकसमेत रहेका अनि राहत वितरणमा पनि खटेका थिए । उनी फागुन २० देखि २८ गतेसम्म भारतको नयाँ दिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा भएको धार्मिक सभामा सहभागी भएर घर फर्किएका थिए । घर फर्किएको ४५ दिनपछि उनमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमणको पुष्टि भएसंगै गाउँमा फैलिएको त्रास कायमै छ । कोरोना संक्रमितबाट थप ब्यक्तिहरुमा सरेको हुन सक्ने भएकाले त्रास भएको स्थानीय वीपी लामिछानेले बताए ।
६३ जनाको स्याम्पल पठाइयो
संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका पहिलो घेराका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङको आधार बनाएर स्याम्पल संकलन गरी परीक्षणका लागि पठाएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यकर्मी, जनस्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीहरुको ३ वटा छुट्टाछुटै टोली संक्रमण क्षेत्रमा परिचालन गरिएको थियो । प्रत्येक टोलीले घरघरका पुगेर परीक्षणका लागि स्याम्पल लिएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका महामारी फोकल पर्सन जीवन चौलागाईंका अनुसार संकलित स्याम्पल मंगलबार कोशी अञ्चल अस्पतालमा निर्माण गरिएको कोरोना अस्पताल विराटनगर पठाइएको छ । रिपोर्ट कहिले आउँछ यकिन छैन ।
संक्रमितको ट्राभल हिस्ट्रि
दिल्लीबाट फर्केर उनले धेरैजनासंग भेटघाट गरेको देखिन्छ । स्थानीय मदरसामा पढाउने गरेका उनी बिद्यार्थीहरुको सम्पर्कमा पनि पुगे । संक्रमितको परिवारमा श्रीमती र दुई सन्तान रहेका छन् । उनको परिवारमा १५ जना रहेको स्थानीयले बताए । अरु ४५ जना र संक्रमितको परिवारले प्रयोग गर्ने आँगन एउटै हो ।
स्वास्थ्य अवस्था सामान्य
संक्रमित ४९ वर्षका उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनले कतिपय व्यक्तिसँग मोबाइलमा कुरा समेत गरिरहेको बताइन्छ । फोकल पर्सन चौलागाईंले उनको स्वास्थ्यमा कुनै समस्या नरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्