झापा, १९ वैशाख । आज १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस, श्रमिक—मजदूर आन्दोलनको संसारभरि स्मरण गरिँदै छ ।

यद्यपि विश्वव्यापी कोभिड–१९ महामारीका कारण विभिन्न देशले लकडाउन गरेका छन् । जसका कारण विगतमा जस्तो उत्साहपूर्ण रुपले यो दिवस मनाइने छैन । प्रत्येक वर्ष मे १ तारिखका दिन विश्वमा अन्तर्राष्ट्रिय श्रमिक आन्दोलनको उत्सवको रूपमा यो दिवस मनाइने गरिन्छ । यस दिन विश्वका प्रायः सबैजसो राष्ट्रहरूमा आधिकारिक रूपमा मजदूर—श्रमिकहरुलाई सार्वजनिक विदा हुन्छ । कतिपय राष्ट्रहरूमा सामान्य रूपमा मनाइन्छ । १९ औं शताब्दीको औद्योगिकीकरणमा युरोपेली देश तथा अमेरिकी देशहरुका उद्योगपतिहरुले दैनिक १५ घण्टासम्म न्यून पारिश्रमिकमा श्रमशोषण गर्ने गर्थे । यही परिस्थितिका बीच मजदुरहरुले १ मे १८८६ का दिन शोषणका विरुद्ध समानता, उपयुक्त श्रमज्वाला, उचित विदा सुविधा र श्रम वातावरणको लागि एकीकृत हुने उद्घोष गरे । ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजनको माग गरे । सोक्रममा अमेरिकाको सिकागोमा यही माग सहितको मजदूरहरुको शान्तिपूर्ण प्रर्दशनमाथि गोली चलाइँदा थुप्रै प्रदर्शनकारीको मृत्यु भयो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यसयता हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो ।
नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ । यस वर्ष नेपालमा पनि श्रमिक आन्दोलनको स्मरण गरिए तापनि विगतमा झैँ कुनै औपचारिक कार्यक्रम राखिएको छैन ।

यस वर्ष नेपालमा यो दिवस मनाउन औपचारिक कार्यक्रम नराखिए पनि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले कोरोना भाइरसका कारण श्रमिकले भोग्दै आएका साझा समस्या सम्बोधन गर्न सरोकारवालाको ध्यानाकर्षण गराउँदै मनाउने जनाएको छ । यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रमुख दलका नेताहरूले श्रमिक दिवसको शुभकामना दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्