झापा,बैशाख १९ । रोल्पामा बम विस्फोटमा परेर चार बालबालिकाको मृत्यु भएको छ ।

घटनास्थलमा फेला परेको विष्फोट नभएको टुइन्च मोर्टारको गोली

त्रिवेणी गाउँपालिका—७ गैरीगाउँका चार बालबालिकाको हिजो साँझ मृत्यु भएको हो । मृत्यु हुने बालबालिकामा १४ वर्षीय नोकिराम डाँगी, १४ वर्षीय गौरव नेपाली, ११ वर्षीया विमला खत्री र ५ वर्षीय विजय खत्री छन् । गाउँ नजिकैको जंगलमा गोठाला गएका उनीको विस्फोटमा परेर मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङका अनुसार चारैजनाको घटनास्थलमै मृत्यु भएको हो । विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए । युद्धकालमा रहेको बम विस्फोट भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । चारै जनाको मृत्यु भएकाले विस्फोटको घटना कसरी भन्ने बारे खुल्न सकेको छैन । बम भेटाएर खेलाउदा विस्फोट भएको हो कि भन्ने आशंका गरिएको छ । बम विस्फोट भएको घटनास्थल नजिकै अर्को एक थान बमसमेत फेला पारेको छ । मृत्यु हुने विमला र विजय एकै परिवारको भएको जनाइएको छ ।

जुगार, नुवागाउँ र होलेरी इलाका प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको छ । विस्फोट नभएको बम समेत रहेकाले शव उठाउन सकिएको छैन । रातभर प्रहरीले शवको सुरक्षा दिएको छ ।नेपाली सेनाको डिस्पोजल टोली आज घटनास्थल जाने छ । नपड्किएको बम डिस्पोज गरेर मात्र शव उठाइने प्रहरीले जनाएको छ । गाउँको नजिकै विस्फोटको घटना भएको हो। तत्कालीन विद्रोही नेकपा माओवादी र शाही नेपाली सेनाबीच युद्धताका दुम्ला जंगलमा भिडन्तसमेत भएको थियो । युद्धकै समयमा छाडिएको बेवारिसे बम विस्फोट भएको आशंका गरिएको छ । बम उनीहरुले कुल्चिएर पड्किएको हो वा के कारणले भन्ने बारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्