झापा, बैशाख १९ । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको ८४ वर्षको उमेरमा गएराति निधन भएको छ ।

प्रजातन्त्र सेनानी समेत रहेकी अधिकारीको काठमाडौं सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । १९३६ नोभेम्बर २७ मा विरगञ्जमा जन्मेकी रानुदेवीको बाल्यकाल भारतमा बितेको भएपनि उनको विवाह २००६ सालमा विराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको थियो । गायिका रानुदेवीले निरंकुशता विरुद्धको प्रजातान्त्रिक आन्दोलनमा कला र सांगीतिक मोर्चामा काम गरेको राजनीतिकर्मीहरु बताउँछन् ।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्वत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी गरेकी थिइन् । २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो । विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा तारिणीप्रसादले नै प्रोत्साहन गरेका थिए ।अधिकारीको एक छोरा अविन र दुई छोरीहरु अर्चना तथा अल्पना रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्