ताप्लेजुङ, वैशाख २० । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा गएराति आगलागी भएको छ ।

राति ११ बजेतिर फुङ्लिङ बजारस्थित ट्याक्सी काउन्टर लाइन क्षेत्रमा आगलागी भएको हो । भण्डारी खाजाघर छेउबाट सुरु भएको आगो उत्तरतर्फ नेपाली कांग्रेसको पार्टी कार्यालय रहेको घरसम्म पुगेको थियो । आगो नियन्त्रण गर्न दक्षिणतर्फ राम चौधरीको घर पूर्णरुपमा र दुर्गा ढुंगानाको दूध डेरी आंशिक रुपमा भत्काइएको छ । ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक मोहन पोखरेलका शनिबार बिहान साढे ५ बजे आगो नियन्त्रणमा आएको छ । आगलागीबाट १२ घर जलेर नष्ट भएका छन् ।

आगलागी नियन्त्रणका लागि स्थानीयबासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएका थिए । आगो नियत्रण गर्न पाँचवटा दमकल र जेसीभी पनि प्रयोग गरिएको थियो । आगो नियन्त्रणका लागि पाँचथर सदरमुकाम फिदिमबाट पनि दमकल बोलाइएको थियो । के कसरी आगलागी भयो भन्नेबारे खुलिसकेको छैन । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । सोही स्थानमा ५ वर्षअघि पनि भीषण आगलागी हुँदा ३७ घर जलेर नष्ट भएका थिए भने करोडौको क्षति भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्