झापा, वैशाख २० । कोरोना संक्रमणका कारण अधिकांश विकास निर्माणका काम ठप्प भएको छ ।

भौतिक संरचना निर्माण र विकासे कामका लागि चैत र वैशाख उपयुक्त महिना हुन् । यही बेला मुलुकमा कोरोना संक्रमण देखिएपछि विकासका काम रोकिनु स्वाभाविक हो । र, त्यस्तो रकमान्तर गर्ने क्रम ह्वात्तै बढेको छ । समयमा काम नगर्ने पुरानो संस्कार नै हो । यसपटक कोरोना संक्रमण काम नगर्ने र रकमान्तर गर्ने गजबको बहाना मिलेको छ । यसले सम्बन्धित शीर्षकको रकम फ्रीज हुने दर यसपटक निकै कम हुने सम्बन्धित क्षेत्रका जानकारहरु बताउँछन् । विकासका काम नहुने स्पष्ट देखिएको उनीहरूको तर्क छ । कोरोना संक्रमणसँगै झापामा पनि रकमान्तर गर्ने प्रतिस्पर्धा जस्तै चलेको सम्बन्धित पालिकाका नागरिकले गुनासो गर्न थालेका छन् । जिल्लाका १५ वटै पालिकाले रकमान्तर गरिसकेका छन् । केही पालिकाले बाहेक धेरैले सो कुरा सार्वजनिक गरेका छैनन् ।
कोरोना राहत कोषमा उक्त रकम जम्मा गरेको बताउन पाउने र त्यसको विरोध समेत नहुने भएकोले पालिकाहरुले यो काम द्रुत गतिमा गरिरहेको बुझिएको छ । यद्यपि, यो कुरा मान्न सबै पालिका र त्यसका प्रमुखहरु तयार नभएको सम्बन्धित पालिकाबासीको भनाइ छ ।

यसैबीच जिल्लाको पश्चिम दक्षिणी गाउँपालिका गौरीगञ्जले भने रकमान्तर गरेको सार्वजनिक गरेको छ ।
गाउँपालिकाले चालू आर्थिक वर्षमा गरिने भौतिक विकास निर्माणका करिब ४२ लाख रूपैयाँ बजेट रकमान्तर गरेको उपाध्यक्ष दीपिन्द्र थापाले बताए । वैशाख १२ गते बसेको गाउँपालिका बैठकले त्यस्तो निर्णय गरेको उनले जानकारी दिए । उनका अनुसार गाउँपालिकासँग सम्झौता नभएका १७ वटा योजनाको रकम विपद व्यवस्थापन कोषमा जम्मा हुने गरी रकमान्तर गरिएको हो ।
कोरोना संक्रमण न्यूनीकरणका लागि आगामी वर्ष स्रोत व्यवस्थापन गर्ने गरी वडाहरूको १७ वटा शीर्षकका बजेट कटौती गरिएको उपाध्यक्ष थापाले जनाए । गाउँपालिकाको वडा नम्बर १ को ७ लाख ५० हजार, २ को ६ लाख ५० हजार, ३ को ७ लाख, ४ को ७ लाख, ५ को ७ लाख, ६ को ७ लाख रूपैयाँ गाउँपालिकाको विपद व्यवस्थापन कोषमा रकमान्तर गरिएको प्रमुख प्रशासकीय अधिकृत प्रविन दाहालले जानकारी दिए । सबैभन्दा बढी वडा नम्बर १ को र सबैभन्दा कम वडा नम्बर २ को रकमान्तर भएको छ । अरु ४ वटा वडाको समान रकम रकमान्तर भएको छ । गाउँपालिकाको नदी नियन्त्रण, सडक , कल्भर्ट , भवन , घेराबेरा निर्माण र खेलकुदलगायतका शीर्षकको बजेट रकमान्तर गरेको हो ।
यसअघि गाउँपालिकाको विपद व्यवस्थापन कोषमा ३३ लाख रूपैया थियो । अहिले विकास बजेट रकमान्तर गरी ४२ लाख रुपैयाँ जम्मा गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्