झापा, बैशाख २० — प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।
त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको छ । ’सचिवालयले पार्टीका उपाध्यक्ष गौतमलाई उपयुक्त, समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमीकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए ।
यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबै तहमा निर्देशन दिने पनि निर्णय गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार पार्टीमा तीन अध्यक्ष बनाउने विषयमा माधवकुमार नेपालले असहमति जनाएका छन् । ’पार्टीमा तीन अध्यक्ष बनाउने विषयमा पनि छलफल भएको थियो’ प्रवक्ता श्रेष्ठले भने ’तीन अध्यक्ष बनाउने विषयमा माधव कुमार नेपालको असहमति छ ।’