झापा, वैशाख २२ । कोरोना संक्रमण आशंकामा झापाको भद्रपुर नगरपालिका— २ को किचकवध क्वारेन्टाइनमा राखिएका १८ जना भागेका छन् ।

केही दिनअघि परीक्षण गराउँदै क्वारेन्टाइनमा रहेका भारतीय नागरिक

उनीहरू शनिबार राति पानी परेको मौका छोपेर भागेका हुन् । उनीहरू सबै भारतीय नागरिक भएको जनाइएको छ । झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले भागेका उनीहरुको खोजी भइरहेको बताए । भागेका कोही पनि भारत नगएको उनको दाबी छ । भागेकामध्ये केही भद्रपुर क्षेत्रमा भेटिएको उनले बताए । कति जना , उनीहरु कहाँ भेटिएका हुन् स्थान र संख्या खुलाउन भने प्रजिअले चाहेनन् । ‘हामी उनीहरूको पहिचान गरिरहेका छौँ, भेटिएका त्यहाँबाट भागेका व्यक्ति हुन् कि होइनन् यकिन भएको छैन’ उनले भने, ‘उनीहरूको यकिन र अरुको खोजी गर्ने काम भइरहेको छ ।’ भागेका भनिएका १८ जना नै चैत १९ गतेदेखि क्वारेन्टाइनमा बसेको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए । बिर्तामोडतिरका प्लाइउड उद्योगका कामदार भएकाले उनीहरु त्यतै फर्किएको हुन सक्ने उनले बताए । क्वारेन्टाइनमा बसेका उनीहरूले घरमा फोन सम्पर्क गर्ने गरेको खुलेपनि सीमा सिल भएकाले उनीहरू भारत फर्कन सक्ने सम्भावना नरहेको उनले बताए । उनीहरूको खोजी भइरहेको प्रमुख श्रेष्ठले बताए ।

परीक्षणमा आरडिटी नेगेटिभ आएका उनीहरूलाई नगरपालिकाले खाने प्रबन्ध मिलाएको थियो । उनीहरुका लागि लगाउने र भाडाबर्तनको व्यवस्था नेपाल रेडक्रस सोसाइटी झापाले गरेको थियो । जिल्ला प्रहरी कार्यालय झापाले उनीहरू क्वारेन्टाइन अवधि पूरा गरिसकेका र नाका सिल भएकाले काम गर्न फर्किएको हुन सक्ने जनाएको छ । प्रहरीले त्यसको आधिकारिक पुष्टि नगरे पनि उनीहरू क्वारेन्टाइन आसपासमा दैनिक ज्यालादारीमा काम गरिरहेको बताइएको छ । झापाका प्रहरी अधिकृतले भने,“ आरडिटी परीक्षण नेगेटिभ आएको र क्वारेन्टाइनमा एक महिनासम्म बस्दा खराब स्वास्थ्य नआएका व्यक्ति हुन् ।“ उनीहरू सबै भारतीय नागरिक भएको जनाइएको छ । प्रहरीले घुमाउरो जवाफ दिनु, प्रजिअ र नगर प्रमुख श्रेष्ठले खोजिरहेको बताए पनि नभेटिनुले उनीहरुलाई मिलेमतोमा छाडिएको पुष्टि हुन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्