बिर्तामोड, बैशाख २२ । कोरोना भाइरसको महामारीका कारण लगाइएको लकडाउनले पसल बन्द हुँदा बिर्तामोड— ९ का लक्ष्मी ठाकुरलाई चिन्ता छैन । किनकि उनले घरमै सैलुन संचालन गरेका छन् ।

कपाल काट्दै लक्ष्मी

ग्राहकहरु कपाल दारी काट्न घरमै आएपछि उनले खाली हात बस्नु परेको छैन । ‘दिनमा ५०—६० ग्राहकसम्म आइपुग्छन्’ उनले भने,‘त्यसबाट दिनमा ४ हजारसम्म आम्दानी हुन्छ ।’ लक्ष्मीसहित उनका तीन दाजुभाइले बिर्ताबजारमा सैलुन खोलेका छन् । लकडाउनले तीनैजनाको पसल बन्द छ । घरमा आउने ग्राहकलाई तीनैजनाले सेवा दिने गर्छन् । ‘हामी घरमा आलोपालो गरेर कपाल काट्छौ’ लक्ष्मीले भने,‘ दिनभरि कमाएको पैसा तीन भाग लगाउँछौँ ।’

आफूहरुले नियमित रुपमा कपाल काट्ने गरेका ग्राहकहरु नै फोन गरेर घरमै आउने गरेको उनले बताए । ‘कसैकसैले आफ्नै घरमा कपाल काट्न बोलाउँछन्’ उनले भने । कोरोना संक्रमणको बढ्दो जोखिमका बेला कपाल काट्ने र काट्न लगाउने दुवैलाई खतरा हुनसक्छ । ‘नचिनेका ब्यक्तिको कपाल काट्ने गरेका छैनौँ’ लक्ष्मीले भने,‘काट्ने भनेको चिनेजानेको लाई नै हो ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्