भद्रपुर, बैशाख २२ । निर्माण तथा प्लाइउड उद्योगमा कार्यरत भारतीय मजदुर बन्दाबन्दीका कारण भोकमरीमा पर्न थालेपछि आफ्नो कार्यस्थल छोडेर भाग्ने क्रम बढ्न थालेको छ ।

लेखनाथ चोकमा अलपत्र भारतीय मजदुर

काममा लगाउने ठेकेदारले बन्दाबन्दीको बहाना बनाएर खाना खाने व्यवस्थापनसमेत गर्न छोडेपछि भारतीय मजदुर आफ्नो कार्यस्थल छोडेर भाग्न थालेका हुन् ।झापामा सडक, पुल, भवनलगायत निर्माण क्षेत्रमा हजारौं भारतीय मजदुरले काम गर्दै आएका छन् । त्यसैगरी चिया, प्लाइउडलगायतका उद्योगमा समेत हजारौं भारतीय मजदुरले काम गरिरहेका छन् । तर, ती क्षेत्रमा काम लगाउनेहरूले खाने व्यवस्थापनमा समेत बेवास्ता गरेपछि रातारात मजदुर भाग्ने गरेका छन् ।
पछिल्लो पटक किचकबध क्वारेन्टाइनबाट शुक्रवार राति १८ जना भारतीय बसेको ठाउँ छोडी रातारात भागेका थिए भने बिर्तामोडमा रहेर निर्माण तथा प्लाइउड उद्योगमा काम गरिरहेका १६ जना मजदुर ठेकेदारले खान नदिएपछि बिचल्लीमा परेका छन् । भारत माल्दहका ती भारतीय कामदार बिर्तामोडवाट भद्रपुर नाकातर्फ जाँदै गर्दा चन्द्रगढीको लेखनाथ चौकमा सोमवार विहान पक्राउ परेको घटनाले पनि काम लगाउनेले मजदुर अलपत्र पारेको पुष्टि गरेको छ ।

खान नपाएर मर्नुभन्दा मौका छोपेर आफ्नो देश भारत हिँडेको ती मजदुरहरूको भनाइ छ । उनीहरूको गुनासो भनेको सम्पूर्ण जिम्मा लिएर काममा लगाउने ठेकेदार संकटका बेला जिम्मेवारीबाट पन्छेकोले भोकमरीमा परेर भाग्नु परेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्