दमक, वैशाख २४ ।बन्दाबन्दी लम्बिदै गएपछि शिक्षण संस्थाहरूले इन्टरनेटको प्रयोग गरेर विद्यार्थीलाई पढाउन थालेका छन् ।

भर्चुअल कक्षा हुँदै

बन्दाबन्दीका कारण शिक्षण संस्थाहरू ठप्प भएपछि विद्यालयहरुले भर्चुअल कक्षा सुरु गरेका हुन् । विद्यार्थीको पठनपाठन कसरी अघि बढाउने भन्ने पिरलोमा शिक्षक र अभिभावकहरु रहेका बेला सुरु गरिएका यस्ता कक्षाले सीमित विद्यार्थीलाई राहत मिलेको छ । सरकारले ११ चैतदेखिको बन्दाबन्दीको अवधि बढाउँदै वैशाख मसान्तसम्म पुर्याउने लगभग निश्चित भएको छ । कोरोना संक्रमितको संख्या बढेसँगै बन्दाबन्दी लम्बिएको हो । जेठ संक्रान्तिदेखि बन्दाबन्दी खुल्ने झिनो सम्भावना भएपनि तत्काल शिक्षण संस्था खुल्ने र पठनपाठन हुने अवस्था छैन । यस्तो परिस्थिति सिर्जना भएपछि ईन्टरनेटको सुविधा भएका केही निजी विद्यालयले भर्चुअल कक्षालाई प्राथमिकतामा राखेर सुरु गरेका छन् । एकाद सामुदायिक विद्यालयले त्यस्तो कक्षा सुरु गरेपनि त्यसलाई निरन्तरता दिने नदिने अन्योल छ । झापाका केही निजी विद्यालयले अनलाइन कक्षा चलाइरहेका छन् । त्यसमध्येको एउटा विद्यालय हो — दमकको झापा मोडल । सो विद्यालयले १५ दिन अघिदेखि भर्चुअल कक्षा चलाइरहेको संस्थापक जयबहादुर श्रेष्ठले बताए । उनले एल केजीदेखि कक्षा १० सम्मका विद्यार्थीले नियमित भर्चुअल कक्षा लिइरहेको बताए ।‘ हाम्रा ४५० बढी विद्यार्थीले नियमित कक्षा लिइरहेका छन्’ उनले भने,‘ विषयगत शिक्षकलाई तालिम दिएर कक्षा सुरु गरिएको हो । ’ उनका अनुसार बिहान १० देखि दिउँसो २ बजेसम्म कक्षा सुरु हुने गरेको छ ।

झापा मोडलले विभिन्न विद्यालय र ब्रिटिश काउन्सिलको सहयोगमा शिक्षकहरूलाई तालिम दिएर ७ वैशाखदेखि इन्टरनेटबाट कक्षा संचालन गरिरहेको प्रिन्सिपल सागर श्रेष्ठले बताए। ‘अहिलेको अवस्था हेर्दा जेठ अन्तिमसम्म पनि विद्यालय खोल्न सकिने देखिंदैन ’उनले भने, ‘त्यति लामो समय पढाइ नहुँदा बालबालिकाको बानी पनि बिग्रने भएकाले भर्चुअल कक्षा चलाउन थालेका हौं।’
२८ चैतमा फोनबाटै विद्यार्थीको रिजल्ट दिएको झापा मोडलले विद्यार्थीको इन्टरनेटमा पहुँचबारे बुझेर कक्षा सञ्चालनको तयारी गरेको थियो। अधिकांश विद्यार्थी बजार क्षेत्रमा रहेको र अभिभावकहरूले इन्टरनेटको व्यवस्था मिलाएर बालबालिकालाई अनलाइन कक्षामा सहभागी गराएका कारण सहज भएको प्रिन्सिपल श्रेष्ठको भनाइ छ । जूम र गुगल क्लासरुमको प्रयोग गरेर कक्षा चलाइरहेको उनले जानकारी दिए ।
सो विद्यालयमा अंग्रेजी, नेपाली, सामाजिक,गणित बिज्ञान, अर्थशास्त्र,कम्प्युटर, एकुपेसरलगायतका विषयको पढाइ भइरहेको छ । तालिम प्राप्त शिक्षकले अनलाइन मार्फत नै गृहकार्य दिने र परीक्षण गर्ने समेत गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्