झापा, बैशाख २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक दुई पक्षबीच चर्काचर्की भएपछि प्रधानमन्त्री केपी शर्मा ओली निस्किएर हिँडेका छन् ।

नेकपा सचिवालय बैठक

बालुवाटार स्रोतमा अनुसार बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि ओली बाहिरिएका हुन्। भोलि बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न यो बैठक बोलाइएको थियो। नेकपामा एक पद एक मुख्य जिम्मेवारीमा विवाद भएको स्रोतले जानकारी दियो। नेकपाभित्रको विवाद थामिने लक्षण देखिएको छैन। वैशाख २० को सचिवालय बैठकपछि केही मथ्थर भएको विवाद आज बसेको सचिवालयमा पनि दोहोरिएको छ ।नेकपामा बहुमत सचिवालय सदस्यले एक पद एक मुख्य जिम्मेवारीलाई कार्यान्वयन गर्न दबाब दिएपछि चर्काचर्की भएको हो। अघिल्लो सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत जुटाउन सफल भएर वैशाख ८ को अध्यादेशले ल्याएको संकट टार्न सफल भएका ओलीमाथि फेरि घेराबन्दी सुरु भएको छ ।

केही दिनअघि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवासमा बसेको सचिवालयका केही सदस्यको गुटभेलाले ओलीलाई दुईमध्ये एक पदबाट बिदा गर्नै पर्ने निचोड निकालेको थियो। उक्त गुट बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल सहभागी थिए। त्यो गोप्य बैठकले ओलीको एकलौटी रोक्न दुईमध्ये एक पदबाट बिदा गर्नैपर्ने निचोड निकाले अनुसार आजको बैठकमा कुरा उठाइएको थियो। सचिवालयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठक छाडेर आराम गर्न निस्किएका हुन्। खासगरी अध्यक्ष दाहाल र नेपाल समूह ओलीप्रति आक्रामक भएको छ । सकेमा सरकारबाटै बिदा गर्ने रणनीति उनीहरुले अख्तियार गरेपछि ओलीले पनि प्रतिरक्षाका लागि यसबीचमा निरन्तर छलफल गरेका थिए । बैठकले बिहीबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समिति बैठक बस्ने निर्णय गरेको छ ।
यसैबीच आज बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न गरी वामदेव गौतम खुमलटार गएका थिए। प्रचण्डसँगै आफू रहने गौतमले विश्वास दिलाएका थिए। आज बिहान नै माधवकुमार नेपाललाई पनि गौतमले आफू दायाँबायाँ नजाने सन्देश पठाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्