झापा, बैशाख २४ । आज बालुवाटारमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ ।
स्थायी समिति बैठकका एजेन्डाको विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठक निष्कर्षमा नपुग्दै टुंगिएको हो।
सचिवालय बैठकले स्थायी समिति बैठकमा छलफल हुने विषयको टुंगो लगाउन नसकेपछि प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बैठक लगत्तै छलफल सुरु भएको थियो । भोलिका लागि डाकिएको बहुप्रतिक्षित स्थायी समिति बैठक नबस्ने भएको छ । नेकपाका महासचिव बिष्णु पौडेलले भोलिका लागि बोलाइएको बैठक केही समयपछि सार्न दुई अध्यक्ष सहमत भएको बताए । प्रधानमन्त्रीनिकट एक सचिवालय सदस्यले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले भोलि बैठक राख्न अनिच्छुक देखिएकाले बैठक सरेको हो । भोलिको बैठकमा पेस गर्ने प्रस्तावबारे छलफल गर्न आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेको थियो ।बैठकमा दुई पक्षबीच चर्काचर्की भएपछि प्रधानमन्त्री एवम् अध्यक्ष ओली बाहिरिएको स्रोतको दाबी छ । यो विषयमा भने प्रवक्ता नारायणकाजी श्रेष्ठले खुलेर बोल्न चाहेनन्। यद्यपि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको उनले स्वीकार गरे ।
पार्टी विभाजनको चरणमा पुगेर जोगिएको नेकपामा स्थायी समिति बैठकको एजेन्डादेखि ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’सम्मको विषयले विवाद निम्तिएको छ । दुई अध्यक्षबीच तीन दिनयता छलफल भए पनि यी विषयमा सहमति जुट्न नसक्दा सचिवालय बैठक निष्कर्षबिहीन बनेको हो ।