झापा, वैशाख २५ । प्रकृति र पितृको पूजा गरी आज किरात समुदायको महान चाड उभौली पर्व मनाइँदै छ ।

खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले बाली लगाउने समय पारेर पितृ तथा भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने प्रचलन छ ।बालीनाली नबिग्रियोस् भनेर प्रकृतिको पूजा गरेर मनाइने यो पर्वमा किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् । मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ । उभौली पर्वको अवसरमा अवसरमा परम्परागत भेषभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ । तर यो पटक उभौली चाड सार्वजनिक स्थलमा पूजाआजा र नाच प्रदर्शन नगर्ने भएका छन् । कोरोना भाइरस (कोभिड–१९)ले गर्दा किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले घर–घरमा पूजामात्र गरेर मनाउँदै छन् । किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले भने, ‘कोरोनाका कारण लकडाउन गरिएकाले सार्वजनिक ठाउँ नाचगान नगर्ने निर्णय गरेएका छौँ, घरघरमा पूजा गर्ने, अनि साकेला पूजाथानहरुमा चाहिँ पुजारी नछुङहरुले मात्रै पुजा गर्नेछन् ।’ किरात समुदायले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उभौली मनाउने गरेका छन् । साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मंसिर पूर्णिमामा दुई पटक मनाइन्छ । साकेला पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभालगायत जिल्लाका किरात समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले किरात समुदायको महान् पर्व उभौलीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । उनले प्राकृतिक ऋतुचक्रसँग तादात्म्यता कायम गरी मनाइने यस प्रकारका सांस्कृतिक पर्वले प्रकृति र वातावरणको संरक्षण गर्दै दिगो विकासतर्फ अग्रसर हुन अभिप्रेरित गर्नाका साथै हाम्रो देशको सांस्कृतिक विविधतालाई कायम राखी समानता र सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव र एकतालाई सुदृढ बनाउन मद्दत पुर्याउँछ भन्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्