बिर्तामोड, बैशाख २७ । बिर्तामोड नगरपालिकाले नमानेपछि बिर्तामोडका पत्रकारहरुले राहतका नाममा नगद नपाउने भएका छन् ।

कोरोना महामारीका कारण जारी लकडाउनले प्रभावित भएको भन्दै बिर्तामोड क्षेत्रका २३ जना पत्रकारले बिर्तामोड नगरपालिकाबाट नगद सहयोग मागेका थिए ।
बिर्तामोडमा घर नभएका र डेरामा बसेर गुजारा गर्नु परेको भन्दै उनीहरुले दुई साताअघि बिर्तामोड नगरपालिकासँग राहतको नाममा नगद मागेका थिए । ती पत्रकारहरुलाई १०—१० हजार रुपैयाँका दरले खाममा नगद हालेर दिन बिर्तामोड नगरपालिकाले २ लाख रुपैयाँ दिने एक जना दाता समेत खोजिसकेको थियो । तर, नगरपालिकाभित्रै बिरोध आएपछि नगद वितरण गर्ने कार्यक्रम रद्द भएको हो । ‘सिफारिस भएर आएका पत्रकारहरुलाई १०—१० हजारका दरले दिउँ भनेर नगर प्रमुखले भन्दै हुनुहुन्थ्यो,’ नगरपालिकाको स्रोतले भन्यो,‘हामीले बिरोध गरेपछि त्यसलाई रद्द गर्न उहाँ बाध्य हुनुभयो ।’

कोरोना भाइरस रोकथाम तथा राहत ब्यबस्थापन कोषमा सहयोग जम्मा गरेर पत्रकारलाई राहत बाँड्न नमिल्ने नगरपालिकाभित्र कुरा चलेको थियो । ‘२३ जना पत्रकारलाई मात्र राहत बाँडेर हुँदैन, सबैलाई समस्या छ भनेर हामीले भन्यौँ’, एक जना जिम्मेवार कर्मचारीले भने, ‘खाँचो हुनेले टोल विकास संस्थामार्फत राहत लिँदा हुन्छ भनेर सुझायौँ ।’ त्यसपछि नगर प्रमुखले नगद बाँड्ने कार्यक्रम रद्द गरेको उनले बताए ।
राहत दिनुपर्ने भन्दै २३ जना पत्रकारको नाम नेपाल पत्रकार महासंघ झापा शाखाले नगरपालिकालाई सिफारिस गरेको थियो । नगरपालिकाभित्र नगद वितरण गर्ने योजना असफल भएपछि पत्रकार महासंघ झापाले ती लिस्टका पत्रकारलाई राहत स्वरुप ‘जिन्सी’ वितरण गर्ने समेत तयारी गरेको थियो । तर, महासंघभित्र पनि चर्को विरोध भएपछि उक्त योजना समेत तुहिएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्