बिर्तामोड वैशाख २७ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम हालै नियुक्त भएका छन् । उनी झापा बिर्तामोड –३ का स्थायी बासिन्दा हुन् । देजकुमारले महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्ताबजारबाट विद्यालय शिक्षा पूरा गरेका थिए । उनलाई तीन वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त गरिएको हो । उनी अस्पतालका नाक, कान, घाँटी रोग विभागका प्रमुख समेत हुन् । अस्पताल सञ्चालक बोर्डले गौतमलाई कार्यकारी निर्देशक चयन गरेको हो । कार्यकारी निर्देशक डा. विजय आचार्यको कार्यकाल बैशाख २३ गतेबाट सकिएको थियो ।
स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली, क्यान्सर विज्ञ एवम् बोर्ड सदस्य डा. विनय ठाकुर र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रघुराम विष्ट सदस्य रहेको तीन सदस्यीय समितिले डा. गौतमको नाम कार्यकारी निर्देशकमा सिफारिस गरेको थियो । कार्यकारी निर्देशक नियुक्त भएलगत्तै डा. गौतमले अस्पतालले प्रदान गर्ने सेवा सुविधालाई अझै सर्वसुलभ र सहज बनाउने विषयलाई प्राथमिकतामा राखेको बताएको आफन्तको उपचारमा भरतपुरमा रहेका बिर्तामोडका युवा दिपेन्द्र राउतले जनाए । अस्पताललाई क्यान्सरको उपचार, अध्ययन अध्यापन र अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य रहेको कार्यकारी निर्देशन गौतमले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्