बिर्तामोड, बैशाख २९ । बिर्तामोड —१० स्थित ठुटेबर टोलमा १५ विपन्न परिवारलाई शनिबार राहत बाँड्ने कार्यक्रम चलिरहेको थियो । ठुटेबर टोल विकास संस्थाका अध्यक्ष मोहनप्रसाद चँुडालको आग्रहमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति नवीन बिमलीले त्यहाँ दोस्रो पटक राहत वितरण गरिरहेका थिए । त्यही बेला छिमेकी सिद्धिविनायक टोल विकास संस्थाका अध्यक्ष वेनुप्रसाद पाठक पनि राहतका लागि बिमलीलाई गुहार्न पुगे । उनी भन्दै थिए— ’तपाईले दिएको चामल सकियो, फेरि बाँड्नु पर्यो , त्यो पनि भोलि नै ।’

पाठकले आफ्ना टोलका बासिन्दाको समस्या अवगत गराउनेबित्तिकै भोलिपल्टै सहयोग गर्न बिमली तयार भए । उनले यसअघि पनि सिद्धिविनायक टोलका ती विपन्नलाई राहत बाँडेका थिए । बिर्तामोड— १० निवासी समाजसेवी बिमलीले आफ्ना वडाका कसैलाई पनि भोकै बस्न दिएका छैनन् । कसैको घरमा चामल सिद्धिनेबित्तिकै उनी राहत लिएर पुगिहाल्छन् । कोरोना भाइरसको महामारीका कारण करिव डेढ महिनादेखि देशमा लकडाउन छ । जसका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने विपन्नहरु भोकमरीको अबस्थामा पुगेका छन् । वडाबासीहरुको पीडा हेर्न नसकेर युवा नेता बिमलीले राहत वितरणको अभियान नै चलाएका हुन् । उनले अहिलेसम्म ४३३ परिवारलाई राहत बाँडेका छन् । प्रतिपरिवार १० किलो चामल ,१ पोका नून र १ किलो दालका दरले विपन्नले दोहोर्याएर राहत पाएका छन् ।
नगरपालिकाले चैत अन्तिममा ४ किलो चामल, १ पोका नून र आधा किलो दालका दरले बिर्तामोड १० का ३६७ परिवारका १ हजार ४७७ जनालाई राहत दिएको थियो । बिर्तामोडभरि सबैभन्दा कम वडा नं १० का बासिन्दाले नगरबाट राहत पाएको देखिन्छ ।‘ नगरपालिकाबाट छुटेका र ४ किलो चामल सकिएर भोकमरीमा पर्न लागेका छिमेकीहरुको दुःख हेरेर बस्न सकिनँ ’सामाजिक अभियन्ता बिमलीले भने,‘ नगरपालिकाले पुग्नेगरी बाँडेको दिन राहत वितरण बन्द गर्छु नत्र एक—दुई कठ्ठा जग्गा बेचेर भएपनि छिमेकीलाई भोकै बस्न दिन्नँ ।’ नगरपालिकाले राहत बाँड्नुभन्दा अघि र पछि गरी उनले दुईपटक राहत घरघरमा पुर्याएका हुन् ।

गत चैत ११ गतेदेखिको जारी लकडाउनका कारण हुँदाखानेहरु समस्यामा परेको देखेपछि बिमलीले राहत अभियान आफ्नै मधुपोखरी टोलबाट शुरु गरे । चैत २५ गते उनले मधुपोखरी टोलका ३५ परिवारलाई राहत दिए । त्यसपछि त्यो क्रम लगातार बढ्दै गयो । उनले अहिलेसम्म ३० क्वीन्टलको हाराहारीमा चामल बाँडिसकेका छन् । ‘प्रायः धेरै चामल किनेर बाँडेको छु ’उनी संझन्छन् ,‘एकपटक त खाने छैन भनेपछि घरको लागि कुटाएको ८० किलो बासमती चामल दिएर पठाएँ ।’ बिर्तामोड १० मा २२ वटा टोल विकास संस्था छन् । ती सबै टोलहरुले बिमलीलाई नै गुहार्छन् । लकडाउनको ५० दिन बितिसक्दा ४ किलो चामल दिएर नगरपालिकाले गरीखाने जनतालाई नाकी लगाएर पछाडिबाट चुट्ने काम गरेको तेलगानी टोल विकास संस्था ‘ख’ का अध्यक्ष राम लिम्बु बताउँछन् । चुनावका बेला घरघर चाहार्ने नेताकार्यकर्ता महामारीको संकटका बेला दुलो पसेको उनले आरोप लगाए । उनको टोलमा ७४ घरधुरी छन् । त्यसमा ४९ परिवार जनमजदुरी गर्ने र २४ परिवार सुकुम्बासी छन् । ‘नविनजीले नबाँडेको भए हाम्रो हालत हुन्थ्यो’ स्थानीय बयोबृद्ध पदमबहादुर लिम्बूले भने,‘ नगरपालिकाले दिएको ४ किलो चामल ४८ दिन पुर्याउन कसले सक्छ ? ’ उनी प्रश्न गर्छन् ‘ नगरपालिकाले लाखौ रकम जम्मा गरेर के गर्न खोजेको हो ?’ त्यस्तै ठुटेबर टोल विकास संस्थामा ८० घरधुरी छन् । त्यसमध्ये ३४ परिवार विपन्न भएको टोलका अध्यक्ष चुँडालले बताए । उनले पनि खाद्यान्न अभाव भएर प्याकप्याक्ती भएकाहरुलाई बिमलीले सहयोग गरेर ज्यान बचाएको धारणा राखे । ‘एकद्वार प्रणाली भनिरहँदा जनता भोकै मर्न सक्थे ’ चँुडालले भने,‘ चौपट मात्र हैन महाचौपट हुन्थ्यो ।’

सिद्धिविनायक टोल विकास संस्थाका अध्यक्ष पाठक त्यतिकै गुहार्न पुगेका रहेनछन् । चामल सकिनेहरु आफ्नो घरमा धाउन थालेपछि दातालाई गुहार्न आइपुगेको उनले स्पष्ट पारे । ‘चामल नहुने ६ परिवारले मलाई घरमा बस्न दिएनन्’ उनले भने,‘ हामी सबैले उहाँलाई नै गुहार्ने हो ।’ बिमलीको त्यस अभियानलाई वडाका जनप्रतिनिधिहरुले पनि साथ दिएका छन् । राहत बाँड्न सँगसँगै हिडेका वडा सदस्य अर्जुन सिटौलाले वडाका सबै टोल विकास संस्थाहरुलाई समन्वय गरेरै काम गर्ने गरेको जानकारी दिए । जनप्रतिनिधिहरु समेत अहिलेको एकद्वार प्रणालीप्रति सन्तुष्ट देखिएका छैनन् । एकद्वार प्रणालीमार्फत् ब्यबस्थित रुपमा काम हुन नसकेको र अरु जनप्रतिनिधिलाई पनि गर्न नदिएको अर्की वडा सदस्य दिपिका सिवाले गुनासो गरिन् । उनले एकद्वार प्रणालीको आशमा कोही पनि भोकै मर्न नहुने र आफूहरुले भोको पर्न समेत नदिने धारणा राखिन् । ‘स्थानीय स्तरमा दाता ननिस्केको भए वडाबासीहरुले भोकमरीको निकै ठूलो समस्या झेल्नु पथ्र्यो ’ अर्का वडा सदस्य भक्तसिंह राजवंशीको भनाइ छ । उनले कोरोना संकटकालमा संकट टार्न बिमलीले ठूलो सहयोग गरेको भन्दै धन्यवाद दिए । झापाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै सहयोग बिर्तामोड नगरपालिकाको राहत कोषमा जम्मा भएको छ । कोषमा लाखौं रकम बाँकी रहँदा समेत नगरपालिकाले दोस्रो चरणको राहत बाँड्न ढिलासुस्ती गर्नुको कारण बुझ्न नसकेको राजवंशीले बताए ।
कांग्रेस नेता बिमलीले शुरुमा राहत बाँड्न थाल्दा राजनीतिक बिरोध नआएको होइन । तर, भोेकमरीले छट्पटाउन थालेका सर्वसाधारणका लागि कहीँकतैबाट राहतको प्रबन्ध हुन नसक्दा अहिले चुप लागेका छन् । नेकपा झापाका निवर्तमान जिल्ला सल्लाहकार डिल्ली चँुडालले विपद्का बेला बिमलीले गरेकोे काम स्वागतयोग्य भएको प्रतिक्रिया दिए । ‘पीडितको पीडा बुझ्न सक्नेले राहतमा राजनीति कहिल्यै गर्दैनन् ’ उनले भने । आफ्नो वडासँगै बिमलीले अन्य ठाउँमा समेत राहत सहयोग गर्ने गरेका छन् । केही दिन अघि उनले बाह्रदशीको चकचकी र बिर्तामोड —६ को बुट्टाबारीमा पुगेर सहयोग गरे । त्यसैक्रममा उनले बिर्तामोड —९ को डाँडागाउँमा आएर सोमबार १८ परिवारलाई राहत वितरण गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्