बिर्तामोड, बैशाख ३० । ठाउँ—ठाउँमा निःशुल्क खाना खुवाउने ब्यबस्था भएसँगै खाना खाने विपन्नहरुको संख्या पनि थपिदै गएको छ ।

भोकमरीमा पर्न लागेकाहरुलाई लक्षित गरी बिर्तामोड —३ को पाँच स्थानमा सामूहिक खाना खुवाउने कार्यक्रम संचालन गरिएको छ ।
बिर्तामोड— ३ को मेची आँखा अस्पताल अगाडि, सैनिकमोडको करेलाबारी, बिर्ताबजार, नयाँ समावेशी टोल र चौसठ्ठी काली मन्दिर टोल गरी पाँच स्थानमा निःशुल्क खाना खुवाउने कार्यक्रम संचालन गरिएको हो । मेची आँखा अस्पताल अगाडि जेठ २१ गतेदेखि खाना खुवाउन शुरु गरिएको थियोे भने त्यसपछि चौसठ्ठी काली मन्दिर टोलमा जेठ २६ गतेदेखि त्यस्तो ब्यबस्था मिलाइएको हो । त्यस्तै हिजोबाट नयाँ समावेशी टोल र बिर्ताबजारमा सामूहिक रुपमा खाना खुवाउन थालिएको छ । आजबाट भने करेलाबारी टोलमा पनि निःशुल्क भोजनको ब्यबस्था मिलाइएको टोल विकास संस्थाका अध्यक्ष कुमार कन्दङबाले बताए ।
बिर्तामोड —३ का व्यवसायी रामेश्वर मण्डलले चुल्हो निभेकाहरुलाई खाना खुवाएको १० दिन भइसक्यो । उनले मेची आँखा अस्पताल अगाडि दैनिक रुपमा खाना खुवाउँदै आएका छन् । पहिलो दिन बैशाख २१ गते १८० जनालाई खाना खुवाएका उनले दशौँ दिनसम्म आइपुग्दा त्यो संख्या बढेर ३४० पुगेको छ । आफ्नै निजी खर्चमा थालेका मण्डललाई त्यस परोपकार कार्यका लागि अरु सहयोगीहरुले पनि सहयोग गर्ने गरेका छन् । ‘प्रत्येक दिन ७ हजारभन्दा बढीको खर्च आउँछ’ मण्डलले भने, ‘पहिला म एक्लैले ब्यहोर्ने गर्थेँ, अहिले अरुहरुले पनि सहयोग गर्न थालेका छन् । ’ उनलाई राजु राईले २ हजार, अमृत रिजालले २ हजार, ओमप्रकाश शाहले २ हजार ५ सय, अशोक चौधरीले २ क्वीन्टल चामल, मनोज रौनियारले १ क्वीन्टल आलु,अमर शाह र नारायण शाहले सागसब्जी सहयोग गरेका छन् । भोकमरीमा परेका ब्यक्तिहरुलाई पकाएर खुवाउन १५ देखि २० जना नियमित खटिएका छन् ।

त्यसैगरी घरमा खाद्यान्न सकिएर भोकै पर्ने अबस्था आएपछि नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य सन्तोष उप्रेतीले पनि खाना खुवाएको ५ दिन भइसक्यो । उनले बिर्तामोड— ३ कै चौसठ्ठी काली मन्दिर टोल विकास संस्थाका सुकुम्वासीहरुलाई लक्षित गरी खाना खुवाउन थालेका हुन् । पहिलो दिन उनले २२९, दोस्रो दिन २६३, तेस्रो दिन ४०९, चौथो दिन ४३६ र पाँचौ दिन ४८५ जनालाई खाना खुवाएको विवरण छ । ‘मैले निजी लगानीबाट यो पुण्य कार्य थालेको छु ’ उनले भने,‘ लकडाउन नहटेसम्म यो सेवा जारी रहन्छ ।’ त्यसैगरी नयाँ समावेशी टोलमा अफरोज खानको संयोजकत्वमा हिजोदेखि टोल र त्यस आसपासका विपन्नलाई खाना खुवाउन थालिएको छ । हिजो पहिलो दिन ४२६ जनालाई खुवाइएकोमा आज खाना खानेहरुको संख्या ४५० पुगेको संयोजक खानले बताए । ‘खाना खानेको संख्या बढसँगै दाताहरुको सहयोग पनि थपिदै गएको छ ’खानले भने,‘हामी कसैलाई पनि भोकै बस्न दिदैनौँ ।’सामूहिक खाना खुवाउने कार्यक्रमका लागि नविन शिवाकोटी, उदयशंकर शाह, नरेश शाह,सन्तोष राउत,संजयकुमार शर्मा, नारायण शाह, राजेन्द्र सिंह, रेनुका थापालगायतले सहयोग गरेका छन् ।

हिजैबाट थालिएको बिर्ताबजारमा आज ४५० जनाले खाना खाएका छन् । हिजो २६० जनाले खाएका थिए । हिजो अन्जु खड्का र आज मीरा खड्काले खर्च ब्यबस्थापन गरिदिएको आयोजक टीमका सहयोगी पदम प्रसाईले बताए ।
त्यस्तै आजदेखि करेलाबारी टोलमा थालिएको निशुल्क भोजन कार्यक्रममा पहिलो दिन ३५० जनाले खाना खाएको करेलाबारी टोल विकास संस्थाका सचिव अर्जुन राजवंशीले बताए । उनले त्यो संख्या थपिदै जाने अनुमान गरे । त्यस ठाउँको कार्यक्रमका लागि सजेश शिवाकोटीले आर्थिक सहयोग गरेका छन् । बिर्तामोड ३ को पाँच ठाउँमा खाना खुवाउने कार्यक्रम संचालन गरिएको र सबै ठाउँको जोड्दा १ हजार ७ सय बढीले दैनिक खाना खाने गरेको वडाध्यक्ष भोजराज सिटौलाले बताए । उनले विभिन्न दाताले सहयोग गरिरहेको र ती दातालाई वडा कार्यालयले समन्वय गरिदिएको जानकारी दिए । बिर्तामोड —३ मा १ हजार ४६६ घरधुरी छन् । तीमध्ये १ हजार २६ परिवार विपन्न रहेको वडा कार्यालयको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्