मनिषा चम्लागाईँ । झापा, ३० वैशाख

कोरोना भाइसको जोखिम शुरु भएसँगै सरकारले राहत वितरण कार्यक्रम गर्दै आएको छ । स्थानीय सरकारका जनप्रतिनिधिले विपन्न वर्ग छनोट गरी सीमित राहत प्याकेज उपलब्ध गराएका छन् । सरकारले लकडाउनको शुरुवाति दिनमा विपन्न परीवारलाई वितरण गरेको राहत सकिएको छ । “लकडाउन बढ्दै जाँदा कसरी विहान बेलुकाको छाक टार्ने भन्ने दुविधामा छन् विपन्न नागरिक” झापाको बिर्तामोड नगरपालिका–२का सामाजिक अगुवा महेन्द्रकुमार गिरीले भने, “त्यसैले एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौँ” अभियान गरिएको हो ।” अहिले झापामा एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरौँ अभियान सञ्चालनमा छ ।
एक परिवारले एक विपन्न परिवारलाई सहयोग गरे झापामा कोही पनि भोकै बस्नु नपर्ने गिरी बताउँछन् । सरकारलाई राहत वितरणमा सहयोग गर्ने उद्देश्यले अभियान शुरु गरिएको गिरीको भनाइ छ । “यो समय भनेको स्थानीय सरकारका प्रतिनिधि राहत बोकेर हिँड्ने समय होइन” गिरी भन्छन्, “अहिले नागरिकको पहुँचमा विशेषज्ञ चिकित्सकको व्यवस्था, निःशुल्क स्वास्थ्य सेवा पुग्नु पर्छ, सरकारले स्वास्थ्य परीक्षणको मात्रा बढाउनु पर्छ, खाद्य सामग्रीका लागि त हामी एक नेपालीले अर्को एक नेपालीलाई सहयोग गरे पुग्छ ।”
गिरी सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी निर्देशकसमेत हुन् । सहारा नेपाल सहकारी संस्थामा छुट्टै टोलीको व्यवस्थापन गर्दै सहयोग सङ्कलन हुँदै आएको छ । सहयोग संकलन जेठ ३ गतेसम्म मात्र लिने बताइएको छ । सरकारले विपद्को पर्याप्त पूर्वतयारी नगर्दा वितरण गरेको राहतसमेत प्रभावकारी नभएको गुनासो नागरिकबाट आउने गरेको छ । “झापामा २० प्रतिशत अतिविपन्न परिवार होलान्, हुनेखाने परिवारले एक महिनाको लागि विपन्न परिवारलाई सहयोग गर्ने हो भने सरकारलेसमेत आर्थिक भार कम हुन्छ” गिरी भन्छन् ।
अभियान शुरु गर्दा एक हजार परिवारलाई प्रतिपरिवार चामल, दाल, तेल, नुन, साबुनलगाय सामग्री प्रदान गरिने लक्ष्य राखिएको थियो । “एक हजार परिवारलाई राहत वितरण गर्न २० लाख रुपैयाँ खर्च हुन्छ भन्ने उद्देश्यले अभियान शुरु गरेका थियौँ” गिरीले भने, “अभियान घोषणासँगै स्वःस्फूर्तरूपमा सहयोग गर्ने दाता बढ्दै जानुभयो ४० लाख रुपैयाँ बढी संकलन भइसकेको छ ।” “२५ सय परिवारलाई अभियान मार्फत् समेट्ने छौँ” गिरी भन्छन् ।
अभियानमा १८ वटा सामाजिक संघसंस्था र विभिन्न व्यक्तिले स्वतस्फूर्त सहयोग गरिरहेका छन् । १२ सय परिवारलाई राहत वितरण गरिसकेको गिरीले जानकारी दिए । बाँकी परिवारलाई राहत वितरण निरन्तर हुने गिरीको भनाइ छ । राहत पाउने परिवारले प्रतिपरिवार ३० केजी चामल, दुई केजी दाल, तेल, नुन, साबुनलगायतका दुई हजार रुपैयाँ बराबरको सामग्री पाउने छन् । झापाको मेचीनगर, बिर्तामोड, कनकाई, शिवसताक्षी, दमक नगरपालिका र मोरङको सुन्दर हरँैचा नगरपालिका विराटचोकमा राहत वितरण गरिएको छ । राहत वितरणका लागि सुनसरीको इटहरी उपमहानगरपालिकासम्म पुग्ने गिरी बताउँछन् । राहत वितरण वैशाख १६ गतेदेखि शुरु गरिएको थियो ।
स्थानीय सरकारले वितरण गरेको राहतबाट वास्तविक विपन्न परिवार छुट्नसक्ने हुँदा अभियानको शुरु गरिएको उनको भनाइ छ । गिरी कार्यरत सहकारीले ५०लाख रुपैयाँ प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गर्दै राहत कोषमासमेत जम्मा गरेको छ । सो रकमबाट विपन्न परिवारका लागि राहत सामग्री र क्वारेन्टाइनमा रहेकाहरुलाई खाद्यान्न, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई मास्क, पिपिइ, पञ्जाजस्ता स्वास्थ्य सामग्री प्रदान गरिरहेको छ ।
‘एकका लागि एक’ अभियानले झापाका विभिन्न स्थानमा निःशुल्क तयारी खाना वितरणसमेत गर्दै आएको छ । लकडाउनको समयमा विपन्न तथा असाहय परिवारलाई राहत बाँड्दै आएको अभियानले प्रत्येक दिन ६ सय बढीलाई तयारी खानाको प्याकेट खुवाउँदै आएको खाना व्यवस्थापन उपसमितिका संयोजक सञ्जीव घिमिरेले जानकारी दिए ।
हस्पिटलमा बिरामी कुरुवा, सडकमा आश्रित रहेका नागरिकलाई लक्ष्ति गरेर खाना वितरण शुरु गरिएको घिमिरे बताउँछन् । अभियानले लक डाउन नखुलेसम्म हरेक दिन बिहान ९ देखि १२ बजेसम्म खाना वितरण गर्नेछ । घिमिरेका अनुसार दैनिक १ हजारजनालाई खाना खुवाउने लक्ष्य राखिएको छ । तर, त्यसमा राहात पाएका बाहेक अत्यावश्यक हुने र खाना खान नपाइरहेका व्यक्तिलाई मात्र दिइनेछ । खानामा शाकाहारी बिरयानी रहेको छ । त्यसका लागि दैनिक ३५ हजार रुपैयाँ खर्च लाग्नेछ । अभियानले बिर्तामोडबाहेक कनकाईको कोटिहोममा रहेका असाहय र ज्येष्ठ नागरिकलाई पनि खानाको प्याकेट पु¥याउँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्