झापा, वैशाख ३१ ।वैदिक समाज झापाका संस्थापक अध्यक्ष भद्रपुर १० चन्द्रगढी निवासी सामाजिक अभियन्ता दाताराम घिमिरेको ८४ वर्षको उमेरमा निधन भएको छ ।

धार्मिक जागरण तथा सामाजिक उन्नतिमा निस्वार्थ सेवाका लागि आर्थिक तथा जिन्सी सहयोग गरेर योगदान दिने दानवीर घिमिरेको बैशाख २८ गते संयुक्त राज्य अमेरिकाको क्याली नर्थ क्यारोलिना राज्यमा निधन भएको हो ।
धार्मिक विकृतिबिरूद्ध सामाजिक सुधारका लागि आदिम ग्रन्थ वेद विद्याको अध्ययन तथा अध्यापन गर्नका लागि तन, मन र धनले निस्वार्थ सेवामा रहेका घिमिरेको निधनले समाज सुधारको मूल खम्बा नै गुमेको विभिन्न धार्मिक तथा सामाजिक संस्थाहरूले प्रतिकृया दिएका छन् ।
झापाको सदरमुकाम चन्द्रगढीलाई केन्द्र बनाएर आदिम ग्रन्थ वेद विद्याको प्रचार प्रसार गरिरहेको वैदिक समाज झापाले शोक वक्तव्य प्रकाशित गरी घिमिरेले जीवनको महत्वपूर्ण समय धर्मका नाममा हुने विकृति विसंगति अन्त्य गर्न तथा समाजको उन्नतिका लागि तन मन र धन दान दिन सधै अगाडि बढिरहेको बताएको छ । सचिव द्रोण अधिकारीद्वारा जारी शोक वक्तव्यमा घिमिरेको साथ र सहयोगले वैदिक समाज नेपालले धार्मिक साँस्कृतिक विचलनबिरूद्ध सामाजिक जागरण अभियान सफल रूपमा अगाडि बढाइरहेको जनाइएको छ ।

वि.सं १९९३ साल फागुन २ गते विष्णुलाल तथा विष्णुमाया घिमिरेको कोखबाट भोजपुर जिल्लाको साविकको लेखर्क गाउँ पञ्चायत वडा नम्बर ६ काभ्रेमा जन्मिएका घिमिरे २०४५ सालदेखि झापा जिल्लाको साविक चन्द्रगढी ६ हाल भद्रपुर १० केन्द्रमोडको स्थायी बासिन्दा भएर समाज सुधार अभियानमा जुटिरहेका थिए । स्वर्गीय घिमिरे गौसंरक्षण समितिको संरक्षक, घिमिरे बन्धु कल्याण परिषदका संरक्षक लगायत धार्मिक एवं सामाजिक संस्थाका दाताका रूपमा स्थापित थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्